पर्वत/ रुख ढाल्ने क्रममा सोही रुखले चोट लागेर पर्वतमा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छाका ७५ बर्षिय पूर्ण बहादुर दर्जीको मृत्यु भएको हो । मङ्गलवार दिउसो करिब एक बजेको समयमा दर्जी घरभन्दा केही पर बारीमा रहेको दगदगेको रुख काट्न गएका थिए । उक्त रुख काटेर ढल्ने बेलामा सोही रुखले लागेर उनी गम्भीर घाइते भएका थिए ।
लगत्तै उपचारको लागि प्रदेश अस्पताल पर्वतमा ल्याइएकोमा दिउसो करिब तीन बजे उपचारको क्रममा नै उनको मृत्यु भएको हो ।
पर्वतमा सोमबार पनि एक जनाको मृत्यु भएको थियो । फलेवास नगरपालिका–४ मुडिकुवा स्थित कुश्मा–फलेवास सडक खण्डमा जिप दुर्घटना हुँदा ३५ वर्षका सन्जन परियारको मृत्यु भएको थियो । कुश्माबाट खानिगाउँतर्फ जाँदै गरेको ग १ ज ८०२९ नं. को पिक अप बलेरो जिप ब्रेक फेल हुँदा सडकबाट ३० मिटर तल खसेको थियो ।





