सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अस्पताल बसेका अध्यक्षको निर्देशनमा ‘बादल’ बने एमाले संसदीय दलको नेता

अस्पताल बसेका अध्यक्षको निर्देशनमा ‘बादल’ बने एमाले संसदीय दलको नेता

दलको नेताका लागि दावी गरेका प्रत्यक्षतर्फका सांसद सुहाङ नेम्वाङलाई समर्थक र प्रस्तावक राख्न नदिइएपछि प्रतिष्पर्धाविनै बादल नेता छानिएका हुन् ।


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०८२, बुधबार

काठमाडौं / जनयुद्धको कमाण्डर हुँदै एमाले बनेका रामबहादुर थापा बादल नेकपा एमाले संसदीय दलको नेता छानिएका छन् ।

दलको नेताका लागि दावी गरेका प्रत्यक्षतर्फका सांसद सुहाङ नेम्वाङलाई समर्थक र प्रस्तावक राख्न नदिइएपछि प्रतिष्पर्धाविनै बादललाई यो पद हात लागेको हो ।

पार्टी मुख्यालय च्यासलमा बसेको दलको बैठकले उपाध्यक्षसमेत रहेका उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।

दलको नेता बनेका बादल समानुपातिक सांसद हुन् ।

माओवादी पृष्ठभूमि भएपनि पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्रको पहिचान बनाएका उनी पार्टी केन्द्रको तर्फबाट प्रस्तावित थिए ।

युवा पुस्ताले नेतृत्व पाउनुपर्ने भन्दै प्रत्यक्षतर्फका सांसद सुहाङले पनि दावेदारी पेश गरेपछि निर्वाचन प्रक्रिया अघि बढेको थियो ।

निर्वाचनका लागि पार्टी केन्द्रीय सदस्य निरज आचार्यको संयोजकत्वमा निर्वाचन समिति गठन भएको थियो । तर, सुहाङको समर्थक र प्रस्तावक बस्न कोही पनि नमानेपछि बादलको एकल उम्मेदवारी परेको हो ।

महासचिव शंकर पोखरेलले प्रत्येक सांसदसँग छुट्टाछुट्टै कुरा गरेर सुवाङको पक्षमा नलाग्न भनेपछि उनको उम्मेदवारी रोकिएको हो।

एक नेताले भने, ‘सुहाङको उम्मेदवारी नै पर्न नदिन प्रत्येक सांसदलाई व्यक्तिगत रुपमा धम्क्याइयो। त्यसो हुँदा उहाँको समर्थक र प्रस्तावक बस्ने व्यक्ति नै पाइएन।’

प्रस्तावक र समर्थक बस्ने सांसद नै नपाएपछि सुहाङले लगेको उम्मेदवारी फर्म खेर गएको छ।

यसअघि अध्यक्ष ओलीले महासचिव शंकर पोख्रेललाई शिक्षण अस्पतालमा बोलाएर बादल नै नेता हुने वातावरण बनाउन निर्देशन दिएका थिए ।

बादललाई फागुन २१ को प्रतिनिधि सभाको निर्वाचन परिचालन कमिटीको संयोजक तोकिएको थियो तर उनी कतै पनि परिचालित नभएको र निर्वाचनमा एमालेका लागि मत मागेर एक शब्द पनि नबोलेकोमा कार्यकर्ताले पार्टीभित्र गुनासो गरेका थिए ।

संसदीय दलको नेताको लागि उम्मेदवार मनोनय पत्र लिएर प्रस्तावक र समर्थक नपाएका सुहाङले एमालेमा रहेको कमजोरीलाई सुधार्दै, हिजोको आत्मालोचना र वर्तमानको विश्लेषण अनि भविष्यको सुदृढ पार्टीका लागि आफ्नो पाइला भएको बताएका छन् ।

‘पाइला चाल्दै गर्दा अपेक्षित नतिजा नआउन सक्छ । त्यसमा कसैले हतोत्साही हुनु पर्दैन । निरन्तर एमालेले देशलाई समृद्धितर्फ लान्छ । देश र जनताको हितमा पार्टीले काम गर्छ, विश्वस्त छु । यो मैले एक पाइलामात्र चालेको हो, अब चाल्दै जान्छु ।’

संसद भवनभित्र पार्टीको उपस्थितिबारे पत्रकारको जिज्ञासमा उनले सरकारका राम्रा कामलाई सहयोग पुर्‍याउने र कमजोरीप्रति रचनात्मक रूपमा खबरदारी गर्ने बताए ।

सुहाङले थपे, ‘संसद भवनभित्र छिर्नुअघि नै सत्ता र प्रतिपक्षी भनेर आफूलाई पहिले नै सोचेर हिँड्ने हो भने जनता र देशको पक्षमा राम्रो र निष्ठापूर्वक काम गर्न सकिन्न । सरकारले गरेका राम्रा कामलाई सहयोग पुर्‍याउनुपर्छ । कमी कमजोरी औंल्याउँदै खबरदारीका साथ रचनात्म सुझाव दिनुपर्छ । सहयोग पुर्‍याउनुपर्छ । यसलाई सच्याउनुपर्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->