सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

एसइईमा घटिरहेछन् विद्यार्थी

एसइईमा घटिरहेछन् विद्यार्थी

परीक्षा दिने विद्यार्थीको यो संख्या गतवर्षको भन्दा झण्डै साढे दुई हजारले कम हो भने पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा झण्डै तीन हजारले कम हो ।


  • ढोरपाटन संवाददाता
  • चैत्र १९ २०८२, बिहिबार

पोखरा/बहिबारदेखि सुरु हुने एसइई (माध्यमिक शिक्षा परीक्षा) मा गण्डकीबाट ४३ हजार ३५५ जना विद्यार्थी सामेल हुँदैछन् । परीक्षा दिने विद्यार्थीको यो संख्या गतवर्षको भन्दा झण्डै साढे दुई हजारले कम हो भने पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा झण्डै तीन हजारले कम हो ।

प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा विकास महाशाखाका अनुसार पछिल्ला पाँच वर्षमा सबैभन्दा धेरै परीक्षार्थी २०७८ सालमा सहभागी थिए । महाशाखाका अनुसार यी पाँच वर्षमध्ये सबैभन्दा कम परीक्षार्थी भने २०८० सालको एसइईमा थिए । यो वर्ष प्रदेशका ११ जिल्लाबाट ४० हजार ९१८ जना परीक्षार्थी सहभागी भएका थिए ।

महाशाखाका अनुसार २०७८ सालमा ४६ हजार १९१, २०७९ मा ४३ हजार १६४ र २०८१ मा ४५ हजार ८८७ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । महाशाखाले परीक्षाको सबै तयारी पुरा भएको जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गर्ने परीक्षा चैत २९ गतेसम्म चल्नेछ । महाशाखाका महानिर्देशक दामोदर सुवेदीका अनुसार यस वर्ष नियमिततर्फ ३५ हजार ४१७, प्राविधिकतर्फ १ हजार १२० र ग्रेडवृद्धितर्फ ६ हजार ८१८ जना परीक्षार्थी छन् । प्रदेशभर १८७ परीक्षा केन्द्र तोकिएका छन्, जुन अघिल्लो वर्षभन्दा १८ वटा कम हो । परीक्षामा १८७ केन्द्राध्यक्ष, ३८१ सहायक केन्द्राध्यक्ष, दुई हजार २५९ निरीक्षक, ५३२ परीक्षा सहायक र ९६३ कार्यालय सहयोगी परिचालन गरिनेछ ।

जिल्लागत रूपमा मनाङबाट सबैभन्दा कम ३४ जना र कास्कीबाट सबैभन्दा बढी १० हजार ८४३ विद्यार्थी सहभागी हुनेछन् । अन्य जिल्लामा गोरखाबाट तीन हजार ७९७, लमजुङबाट दुई हजार ८६२, तनहुँबाट छ हजार १५५, स्याङ्जाबाट चार हजार २८८, मुस्ताङबाट १८६, म्याग्दीबाट दुई हजार २२, बागलुङबाट चार हजार २३९, पर्वतबाट दुई हजार २१७ र नवलपुरबाट छ हजार ७१२ विद्यार्थी सहभागी हुनेछन् ।

महानिर्देशक सुवेदीका अनुसार परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । प्रश्नपत्र र उत्तरपुस्तिका अधिकांश परीक्षा केन्द्रमा पुगिसकेका छन् । ११ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई अभिमुखीकरणसमेत दिइसकिएको छ ।

यस वर्ष गण्डकी प्रदेशमा सबैभन्दा बढी विद्यार्थी कास्की जिल्लाबाट सहभागी हुँदै छन् । शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका अनुसार २९७ विद्यालयका १० हजार ८५६ विद्यार्थी ३६ परीक्षा केन्द्रबाट सहभागी हुनेछन् । तीमध्ये पाँच हजार ७२२ छात्र र पाँच हजार १३३ छात्रा छन् ।

पोखरा महानगरपालिकामा ३२, अन्नपूर्ण गाउँपालिकामा २ तथा रुपा र माछापुच्छ्रे गाउँपालिकामा १÷१ परीक्षा केन्द्र कायम गरिएको छ । यस वर्ष कास्कीमा १२५ सामुदायिक र १६८ संस्थागत गरी २९३ विद्यालयका विद्यार्थी सहभागी छन् । सामुदायिक विद्यालयबाट चार हजार ४७१ र संस्थागत विद्यालयबाट छ हजार ३८५ विद्यार्थी सहभागी हुनेछन् । प्राविधिक धारका ६ विद्यालयबाट १८८ जना र संस्कृत धारतर्फ ८ विद्यालयका ७० विद्यार्थी सहभागी हुनेछन् ।

गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले एसइई परीक्षालाई विद्यार्थीमैत्री, सुरक्षित, स्वच्छ तथा मर्यादित वातावरणमा सम्पन्न गराउन सबै सरोकारवालाहरूलाई समन्वय र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार एसईई विद्यार्थीहरूको शैक्षिक जीवनको महत्वपूर्ण मोड भएकाले यसलाई तनावमुक्त, अनुशासित र सकारात्मक वातावरणमा सम्पन्न गराउन अभिभावक, शिक्षक, विद्यालय प्रशासन, सुरक्षाकर्मी तथा सञ्चारकर्मीबीच सहकार्य आवश्यक छ । अभिभावकहरूलाई घरमै शान्त र अध्ययनमैत्री वातावरण सिर्जना गर्न, बालबालिकासँग नियमित संवाद गर्न र अनावश्यक दबाब नदिन आग्रह गरिएको छ । ‘निश्चित ग्रेड ल्याउनैपर्छ’ भन्ने सोचभन्दा प्रयासको कदर गर्दै आत्मविश्वास बढाउने वातावरण बनाउनुपर्नेमा मन्त्रालयको जोड रहेको छ ।

विद्यार्थीलाई पोषिलो आहार, पर्याप्त निद्रा र अध्ययनबीच सन्तुलन कायम गर्न तथा मोबाइलजस्ता उपकरणको प्रयोग सीमित गर्न सुझाव दिइएको छ ।

मन्त्रालयले विद्यालय र शिक्षकहरूलाई विद्यार्थीको शैक्षिक अवस्था र मनस्थिती बुझेर अभिभावकसँग समन्वय गर्न, डररहित वातावरण सिर्जना गर्न तथा आवश्यक परे अतिरिक्त सहयोग उपलब्ध गराउन अपिल गरेको छ । टाढाबाट आएका विद्यार्थीहरूको व्यवस्थापनमा पनि विशेष ध्यान दिन मन्त्रालयले अनुरोध गरेको छ ।

केन्द्राध्यक्ष, निरीक्षक तथा सुरक्षाकर्मीहरूलाई परीक्षा वातावरण बालमैत्री बनाउन, अनावश्यक कडाई वा त्रास नदेखाउन तथा परीक्षार्थीको गोपनीयता कायम गर्न निर्देशन छ । परीक्षा केन्द्रमा स्वच्छ खानेपानी, शौचालय, सेनिटरी प्याड र प्राथमिक उपचारको व्यवस्था अनिवार्य गरिएको छ । नक्कल तथा नक्कली परीक्षार्थी नियन्त्रणमा सजग रहन र परीक्षा आचारसंहिता पूर्ण रूपमा पालना गराउन मन्त्रालयले जोड दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->