बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

धर्मसँगै संस्कृतिको संगम

धर्मसँगै संस्कृतिको संगम

तातोपानीमा सन्ध्या आरती र सांस्कृतिक गतिविधि


  • अमृत बास्कुने
  • चैत्र १९ २०८२, बिहिबार

म्याग्दी/बेनी नगरपालिका–४ सिंगा तातोपानी कुण्डमा पछिल्लो समय धार्मिक तथा सांस्कृतिक गतिविधि पनि थपिएको छ । यहाँ हरेक हप्ता हुने सन्ध्या गंगाआरती र साँस्कृतिक कार्यक्रमले त्यस क्षेत्रमा पुग्नेलाई थप हौसला बढाएको छ ।

कुण्ड क्षेत्रमा प्रत्येक शुक्रबार साँझमा कला संस्कृतिको जगेर्नाका लागि साँस्कृतिक कार्यक्रम र सोमबार बेलुका सन्ध्या गंगाआरती हुने गर्छ । नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीको परीक्षण अनुसार ५३ डिग्री सेन्टीग्रेट तापक्रम मापन गरिएको यहाँको तातोपानी नुहाउन आउँदा शारिरीक तथा मानसिक रुपमा पनि निको हुने जनविश्वास रहेको छ । कुण्ड परिषरमा तातोपानी कुण्ड व्यवस्थापन समितिले २०८१ साउनको पहिलो सोमबारदेखि नियमित रूपमा सन्ध्या गंगाआरती सुरु गरेसँगै भक्तजनको आकर्षण उल्लेखनीय रूपमा बढेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काको भनाई छ । सोमबार बेलुका हुने आरतीमा तातोपानीमा स्नान गर्न आउनेको सक्रिय सहभागिता जनाई आध्यात्मिक आनन्द लिने गरेको खड्काको अनुभव छ । सन्ध्या गंगा आरतीले तातोपानी क्षेत्रलाई केवल प्राकृतिक उपचारस्थल मात्र नभई धार्मिक केन्द्रका रूपमा पनि स्थापित हुन सफल भएको छ । परापूर्व कालदेखि नै धार्मिक रुपमा महत्वपूर्ण क्षेत्र भएकाले पनि तातोपानीमा आरती थालिएको हो । जलकुण्डलेश्वर महादेवको आराधनाका लागि आरती शुरु गरिएको मुलबाचक रमेश खड्काको भनाई छ । यहाँ उपचारका लागि आउने बिरामी तथा पर्यटकहरुलाई धार्मिक रुपमा भजन किर्तन गरेर आनन्द लिनका लागि आरतीले महत्वपूर्ण भूमिका खेलेको खड्काको भनाई छ ।

तातोपानीमा अवस्थित जलकुण्डलेश्वर महादेव मन्दिरमा नियमित रूपमा बिहान–बेलुका नित्य पूजा हुँदै आएको छ । मन्दिरको सेवा तथा पूजा व्यवस्थापनका लागि एकजना पुजारी खटिइ निरन्तर धार्मिक क्रियाकलाप सञ्चालन गरिरहेका छन् । आरती कार्यक्रम सञ्चालनका लागि आवश्यक खर्च भक्तजन तथा धर्मप्रेमीहरूले स्वतःस्फूर्त रूपमा चढाउने दानदक्षिणाबाटै जुटाइएको छ, जसले कार्यक्रमलाई आत्मनिर्भर बनाएको छ । जलकुण्डलेश्वर महादेव र जलमाई भगवतीको नियमित रुपमा नित्य पुजा आरनधनाले भक्तजनलाई आकर्षित गर्ने गरेको छ । हरेक बिहान साँझ हुने आरतीमा सहभागी हुन तथा पुजा अर्चनाका लागि पनि भक्तजनहरु आउने गरेका छन् । जलधारा, अभिषेक, एकाबृत्ती रुद्री पाठ हुनुका साथै हरेक सोमबार १०८ दिप प्रज्ज्वलन र गंगा आरती यहाँको मुख्य आकर्षण रहेको मन्दिरका पुजारी सुदिप गौतमको भनाई छ ।

कुण्ड व्यवस्थापन समितिले हरेक दिन बिहान बेलुका एकाबृत्ती रुद्री पाठ जलधारा तथा सन्ध्याकालिन गंगा आरती गर्दा कुण्डमा स्वास्थ्यलाभका लागि आउने बिरामीलाई धार्मिक रुपमा पनि राम्रो भएको कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसी बताउँछन् । कुण्डमा नुहाउनका लागि आएका तथा आरतीलाई नै ध्यानमा राखेर धार्मिक रुपमा आउने पर्यटकलाई पनि यसले राम्रो भएको छ । धवलागिरी हिमालबाट बगेको म्याग्दी नदि र यसको किनारमा रहेको ठुलो तातोपानीको कुण्डमा उपचार तथा आत्मीक शान्तिका लागि पनि धेरै तिर्थालु तथा बिरामीहरु आउने गरेका छन् ।

तातोपानी टोल विकास संस्थाले शुक्रबार बेलुका सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रमको मुख्य उद्देश्य स्थानीय कला, संस्कृति र परम्पराको जगेर्ना गर्नुका साथै नयाँ पुस्तामा हस्तान्तरण गर्नु रहेको छ । तातोपानी कुण्डमा आउने पाहुनाको स्वागत सत्कार गर्नुका साथै मनोरञ्जन गर्न पनि यस कार्यक्रमले सहयोग गरेको छ । मनोरञ्जनले गर्दा तातोपानीमा स्वाथ्यलाभका लागि आउने पाहुनाहरुका लागि पनि राम्रो हुने भएकोले पनि तातोपानी टोल विकास संस्थाले नियमित रुपमा सांस्कृतिक कार्यक्रम गर्दै आएको हो । यस्ता कार्यक्रमले स्थानीय कलाकारहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेका छन् । विशेषगरी, नयाँ र ओझेलमा परेका कलाकारका लागि यो राम्रो एक्सपोजर’ को अवसर बनेको मौलिक कला–संस्कृतिको संरक्षण र प्रचारप्रसारमा पनि उल्लेखनीय भूमिका खेलेको सिंगा तातोपानी टोल विकास संस्थाका अध्यक्ष दिपक बानियाँको भनाई छ ।

उनका अनुसार कलाकारहरूका लागि अवसरसंगै आम्दानीको स्रोतसमेत बनेको छ । आफ्नो एकै परिवारका तीन जना आमाछोरीले हरेक शुक्रबार हुने सांस्कृतिक कार्यक्रममा प्रस्तुती दिने गरेको केशकुमारी रोकाले बताईन । आमाले नाच्ने र त्यही सिको गरेर नौ वर्ष र ७ वर्षकी छोरीहरुले पनि साँझको कार्यक्रममा सुन्दर नृत्य प्रस्तुत गर्ने गरेका छन् । दर्शकहरुले खुशी भएर उनीहरुलाई नगद पैसा दिने गर्दा कलाकारहरु उत्साहीत हुने र उक्त रकमले दैनिकी चलाउन सहयोग पुगेको केशकुमारीको अनुभव छ ।

पाहुनाको स्वागत, धार्मिक आस्था र सांस्कृतिक संरक्षणलाई एकैसाथ जोड्ने यो पहलले तातोपानी क्षेत्रको पहिचान अझ सुदृढ बनाउँदै लगेको छ । धर्म र संस्कृतिको सुन्दर संगम बनेको तातोपानी अहिले आन्तरिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा पनि विकसित हुँदै गएको स्थानीय व्यवसायी करिस्मा बानियाँको भनाई छ ।

तातोपानी कुण्डमा नुहाउन आएका पाहुनाहरु पनि गंगाआरती र सांस्कृतिक कार्यक्रमबाट निकै उत्साहीत हुने गरेका छन् । कार्यक्रम निकै राम्रो हुने र यसले आफ्नो रोग निवारणका लागि थप हौसला दिने गरेको मुस्ताङका पासाङ गुरुङले सुनाए । कुण्ड व्यवस्थापन समितिले सन्ध्या गंगाआरती गर्ने र टोल विकास संस्थाले सांस्कृतीक कार्यक्रम गर्नु निकै राम्रो पक्ष रहेको लोघेकर दामोदर कुण्ड गाउँपालिका मुस्ताङका छिरिङ दोर्जे गुरुङले सुनाए । तातोपानी कुण्ड स्वास्थ्य तथा पर्यटनका साथै धार्मिक हिसाबले पनि महत्वपूर्ण रहेको छ । धार्मिक मान्यता राख्नेहरुले दैवीक शक्तिकै कारण मानवहरुले स्वास्थ्यलाभ लिन मिल्ने तबरले प्राकृतिक रुपमै औषधिको मिश्रण भएको तातोपानी निस्कने दावी गर्दछन् । हालको अवस्था हेर्दा पनि कुण्मा नुहाउन तथा अवलोकनका लागि वार्षिक रुपमा ५० हजार भन्दा बढी मानिसको आगमन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->