पोखरा/ पोखराको फेवाताल किनारमा रहेका मापदण्ड विपरीतका अस्थायी संरचनामा शनिवार बिहानै डोजर लगाइएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार तालको ६५ मिटर भित्र पर्ने अस्थायी संरचना भत्काउन थालिएको हो ।
सोही क्रममा सर्वाधिक चासोमा रहेको चर्चित पर्यटन व्यवसायीको वाटर फ्रन्ट रिसोर्टको स्विमिङ पुल, गेट र पर्खालहरू पनि भत्काइएका छन् । बिहान साढे चार बजेदेखि नै प्रहरी परिचालन गरेर भत्काउन थालिएको हो ।
अस्थायी संरचना हटाउनका लागि जिल्ला प्रहरी कार्यालय कास्की , वडा प्रहरी कार्यालय बैदाम, पोखरा महानगरको नगर प्रहरी र सशस्त्र गरी झण्डै डेढ सय प्रहरीलाई खटाइएको थियो । बिहानैदेखि झण्डै ३० वटा संरचनामा डोजर चलेको कास्की प्रहरीका प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए । संरचना हटाउने क्रममा केही स्थानीयले सामान्य असहमति जनाएका थिए ।
संरचना हटाउन डोजरदेखि सबै समन्वय महानगरले गरेको थियो । धेरै व्यवसायीहरू अदालतबाट स्टे अर्डर लिन गएको तर अदालतले स्टे अर्डर नदिएपछि यो प्रक्रिया अगाडि बढेको महानगरले जनाएको छ ।
होटल वाटर फ्रन्टको स्विमिङ पुल, गेट लगायत संरचनामा पनि डोजर चलेको छ । सर्वोच्च अदालतले उक्त होटल हटाउन छुट्टै आदेश दिएको थियो । अहिले होटलको अरु संरचना भने चलाइएको छैन । ताल किनारबाट ६५ मिटर भित्र परेका कारण ति संरचना भत्काइएको हो ।





