पोखरा / सहरी योजना, पूर्वाधार विकास र विपद् व्यवस्थापनमा विशेष कार्यसम्पादन गर्दै देशभरका नगरपालिकामध्ये ९५ प्रतिशत अङ्क प्राप्त गरी पोखरा महानगरपालिका सर्वोत्कृष्ट घोषित भएको छ ।
नेपाल नगरपालिका सङ्घको ३३ औँ वार्षिकोत्सवको अवसरमा पोखरा महानगरपालिकालाई उत्कृष्ट नगरपालिका अवार्ड प्रदान गरिएको हो । प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई काठमाण्डौमा आयोजित एक कार्यक्रममा उक्त अवार्ड प्रदान गरे । अवार्ड ग्रहण गर्दै नगर प्रमुख आचार्यले म्युनिसिपल एक्सिलेन्स अवार्ड पोखरा र सम्पूर्ण पोखरेलीहरूका लागि निकै महत्त्वपूर्ण रहेको बताए । यो सफलतामा सम्पूर्ण नगरवासीहरूको निरन्तर साथ र विकास प्रतिको प्रतिबद्धता रहेको उनले उल्लेख गरे ।
साथै महानगरपालिका परिवार तथा सम्पूर्ण महानगरवासीमा हार्दिक बधाई तथा शुभकामना समेत मेयर आचार्यले व्यक्त गरेका छन् ।





