बागलुङ (खर्वाङ)/प्रतिनिधिसभाको बैठक सुरु भएको आठ दिनभित्रै सबै संसदीय समितिहरू गठन भएका छन् । । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले विभिन्न विषयगत तथा संयुक्त समितिहरूमा रहने सदस्यहरूको नाम स्वीकृत गरेसँगै संसदीय समितिहरूले पूर्णता पाएका हुन् ।
यस प्रक्रियामा बागलुङबाट प्रतिनिधित्व गर्ने पाँच जना सांसदले पनि विभिन्न महत्वपूर्ण समितिमा जिम्मेवारी पाएका छन् । संसद्को कामकारबाहीलाई प्रभावकारी बनाउन गठन गरिएका १० विषयगत समितिमध्ये अर्थ समितिमा सुशील खड्का, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सोम शर्माले जिम्मेवारी पाएका छन् ।
यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा रेनुका काउचा र गंगा छन्त्याल तथा कानुन, न्याय तथा मानवअधिकार समितिमा बलावती शर्माले जिम्मेवारी पाएका छन् ।
संसदीय समितिलाई ‘मिनी संसद’का रूपमा चिनिन्छ । जसले सरकारका कामकारबाहीको निगरानी, विधेयकहरूमाथि दफावार छलफल र आवश्यक निर्देशन दिने गर्दछन् ।
‘मिनी संसद’मा बागलुङका सांसदहरूको उपस्थितीले जिल्लाका मुद्दालाई राष्ट्रिय नीति निर्माणमा जोड्न थप मद्दत पुग्ने मतदाताले अपेक्षा गरेका छन् । शुक्रबारको बैठकमा संयुक्त समितिमा रहने सदस्यहरूको नाम समेत सभाबाट स्वीकृत भएको छ ।





