शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी

वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी

इलाका प्रशासन कार्यालय बुर्तिबाङमार्फत १८ हजार र वडागत रूपमा संकलन गरिएका २६ हजार १ सय ३६ गरी कुल ४४ हजार १ सय ३६ जना नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका शाखा अधिकृत देवचन्द्र बर्तौलाले जानकारी दिए ।


  • अनिष पाठक
  • चैत्र २९ २०८२, आइतबार

बागलुङ (खर्वाङ)/राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पश्चिम बागलुङका ४४ हजार बढि नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ ।

ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा आयोजित परिचयपत्र वितरण अभियान गोष्ठीमा २०७९ सालदेखि हालसम्म परिचय पत्र पाउन नसकेका नागरिकलाई लक्षित गरी विभागले सम्बन्धित वडाबाट वितरण गर्ने तयारी गरेको जनाकारी गराईएको हो ।

स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच भएको छलफलमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक तुलसी प्रसाद दाहालले प्राविधिक टोलीले बागलुङका चार पालिकाका सबै वडाबाट परिचय पत्र वितरण गरिने बताए ।

अभियानअन्तर्गत ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिकाका सम्बन्धित वडामार्फत परिचय पत्र वितरण गरिनेछ । विभागको तथ्यांक अनुसार, इलाका प्रशासन कार्यालय बुर्तिबाङमार्फत १८ हजार र वडागत रूपमा संकलन गरिएका २६ हजार १ सय ३६ गरी कुल ४४ हजार १ सय ३६ जना नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने शाखा अधिकृत देवचन्द्र बर्तौलाले जानकारी दिए ।

शाखा अधिकृत बर्तैलाका अनुसार, वितरण टोलीले वडामा समन्वय गरेपछि वडा कार्यालयले सम्बन्धित नागरिकलाई जानकारी गराएपछि राष्ट्रिय परिचय पत्र प्राप्त गर्न भने सम्बन्धित व्यक्ति अनिवार्य उपस्थित हुनुपर्ने छ । हालसम्म फारम भर्न छुटेका नागरिकको हकमा पनि टोलीले प्रक्रिया अगाडि बढाउने बर्ताैलाले बताए ।

सरकारले डिजिटल नेपाल अभियानअन्तर्गत नागरिकको एकीकृत पहिचान सुनिश्चित गर्न यो प्रणाली अनिवार्य गर्दै लगेको छ । हाल राहदानी बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न र प्यान दर्ता जस्ता सेवामा राष्ट्रिय परिचय पत्र अनिवार्य भइसकेको छ ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूमा खाता खोल्दा, मोबाइल सिम कार्ड लिन र नवीकरण गर्न समेत यसको प्रयोग बढ्दै गएको छ । भविष्यमा निर्वाचन आयोगले यसलाई मतदाता परिचय पत्रको विकल्पका रूपमा समेत प्रयोग गर्ने तयारी थालेको छ । यो अभियानबाट नागरिकले एउटै परिचयपत्रबाट राज्यका सेवा प्राप्त गर्नसक्ने विश्वास विभागले गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->