बागलुङ/जेष्ठ नागरिक र असक्तहरुको लागि सदरमुकाम बागलुङ बजारमा ‘दिवा सेवा कार्यक्रम’ संचालन गर्ने उदेश्यले आयोजित श्रीमद भागवत महापुराण पितृ सप्ताहबाट साढे २६ लाख रुपैयाँ संकलन भएको छ ।
बागलुङ नगरपालिका–३ चिप्लेटी बसपार्कमा सामुदायिक सेवा केन्द्रद्वारा आयोजित पितृ सप्ताहमा उत्साहजनक सहभागिता जनाएका भक्तजनले पवित्र कामका लागि सहयोग गर्नुभएको हो । सप्ताहमा वडा नं. ३ को कार्यालयले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको सामुदयिक सेवा केन्द्रका सचिव सुमन बास्कोटाले जानकारी दिइन् ।
सप्ताहमा बागलुङ नगरपालिकाले १ लाख ११ हजार, कालीका भगवती गुठी व्यवस्थापन समितिले ५० हजार ५ सय ५५, बागलुङ नगरपालिका वडा नं. ८ सिगानाको कार्यालयले ५१ हजार, नागरोडस्थित मेलमिलाप आमा समूहले ५१ हजार ५ सय ५५, तातोपानी महिला समूहले ३० हजार र सारथी महिला समूह गुठीले ३५ हजार संस्थागत सहयोग गरेका छन् ।
चैत २१ गतेदेखि शुरु भएको सप्ताह शनिबार सम्पन्न भएको छ । सप्ताहमा पण्डित तीर्थराज उपाध्यायले कथावाचन गरेका थिए । सप्ताहमा भजनकृतन, उत्प्रेरणात्मक र योग क्रियाकलापसंगै मानवताको रक्षाका लागि विद्धानहरुले प्रवचन दिएका थिए ।
सप्ताहमा संकलित दानबाट दिवा सेवा कार्यक्रम चलाउन आवश्यक भवन निर्माण र गरिब, जेहेन्दार, असक्त, अपाङ्ग र अभिभावकविहिन विद्यार्थीको लागि कोष स्थापना गरिने छ । साथै, सामाजिक सद्भाव र भातृत्व कायम गर्ने, लागूऔषध, साइबर अपराधबारे सचेतना जगाउने, घरेलु तथा महिला हिंसा, बालश्रम शोषण विरुद्वका कार्यक्रम पनि चलाउने लक्ष्य रहेको सामुदायिक सेवा केन्द्रका अध्यक्ष लिलादेवी खड्काले जानकारी दिइन् ।
जेष्ठ नागरिकलाई मनोरञ्जन दिने, भजन गाउने, चिया खाजाको व्यवस्थापन गर्न केन्द्र संचालित हुनेछ । बजार क्षेत्रको नजिक भएकोले जोसुकै पनि केन्द्रमा आएर सेवा लिन सक्नेछन् । निवृत्त भएकादेखि घरका परिवार बाहिर भएकोले एक्लो महसुस गरेका जो कसैलाई दिवा सेवामा राखेर सेवा दिइने अध्यक्ष खड्काले बताइन् ।





