बागलुङ/ठेकेदारको लापरबाहीले अलपत्र परिरहेको कुश्मीसेरा–रुम्टा हुँदै राङखानी जाने सडक निर्माणका लागि स्थानीयले गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
यसअघि सडकमै आन्दोलन गरेकोमा प्रदेश सरकारले उक्त सडक समयमा निर्माण गर्ने आश्वासन पाएपछि फर्केका स्थनीयले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई फेरी ध्यानाकर्षण गराएका हुन् ।
कांग्रेस नेता भीम श्रीष नेतृत्वमा गत वर्ष दुइ सातासम्म सडक आन्दोलन, जिल्ला प्रशासन कार्यालय घेराउ, मुख्यमन्त्री कार्यालय घेराउ लगायतको आन्दोलन गरेर पनि सडक नबनेपछि फेरी उनीहरुले ध्यानाकर्षण गराउन बाध्य भएको बताएका छन् ।
सडक निर्माणमा ढीलासुस्ती हुँदा जैमिनी र बरेङबासीले दैनिक सास्ती खेप्दै आएका छन् । श्रीषकै संयोजकत्वमा गठन भएको संघर्ष समितिले जिल्लाका अन्य नेतालाई पनि साछी राखेर मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।
ध्यानाकर्षण गर्न स्वास्थ्यमन्त्री कृष्ण पाठक, प्रदेशसभा सदस्य डिल्लीराम सुवेदी, एमाले नेता हिराबहादुर केसीलगायतका नेता पनि सहभागि थिए । टोलीले पाण्डेसहित भौतिक पुर्वाधार मन्त्रालयका सचिवलाई पनि ध्यानाकर्षण गराएका थिए ।
यो सडकको रुम्टाखोलामा पक्की पुल समेत बनिसकेको छ । तर सडक अप्ठ्यारो भएकोले नियमित सवारी चल्न समस्या भएको हो । पछिल्लो समय बागलुङदेखि बरेङका लागि नियमित बस सेवा समेत संचालनमा छ । तर, यो खण्डको अप्ठ्यारोले स्थानीयले सास्ती खेपेको बताए । राङखानीको नाम्दुकदेखि बरेङसम्म भने सडक कालोपत्र छ ।





