म्याग्दी/बेनी नगरपालिका–२, बिमिराबोटकी सरस्वती थापालाई बुधबार प्रमुख जिल्ला अधिकारी तथा हुलाक अधिकारी सहितको टोली घरमै पुगेर राहदानी बुझायो । प्रजिअ रबिन्द्र आचार्यले उनका छोराछोरीको समेत गरी चारवटा पासर्पोट बुझाईदिँदा सरस्वती मख्ख थिइननै, प्रजिअ तथा हुलाकका कर्मचारी पनि नयाँ काम गरेकोमा खुशी थिए ।
वर्तमान संघीय सरकार गठनपछि पहिलो दिन नै गएको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची स्वीकृत गराएर नागरिकलाई सेवा प्रवाह प्रभावकारी बनाउने काममा राहदानी र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) घरमै उपलब्ध गराउने उल्लेख थियो । उक्त कार्य गर्नका लागि हुलाकमार्फत घरमै पु¥याउने उल्लेख गरेपछि जिल्ला हुलाक कार्यालय म्याग्दीले बुधबारदेखि सेवा सुरू गरेको हो । प्रमुख जिल्ला अधिकारी आचार्य सहित पुगेको हुलाक र प्रशासनको टोलीले बेनी नगरपालिका २ ज्यामरुककोटबाट उक्त सेवाको सुरु गरेका हुन् ।
बेनी–२ का वडा अध्यक्ष यामबहादुर कार्कीले जनताको घरदैलोमा सेवा दिने सरकारको अभियानलाई वडाका जनप्रतिनिधि सहित जनशक्ती समेत आवश्यकता अनुसार परिचालन हुनुपर्नेमा जोड दिए । बुधबार बेनी–२ ज्यामरुककोट, खवरा र वडा नं ६ चुत्रेनीमा ७ वटा राहदानी वितरण गरिएको जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले जानकारी दिए । ‘अब पासर्पोट घरदैलोमै आउँछ, सबै पालिकाका हुलाकमार्फत चिठीजस्तै घरदैलोमै पु¥याउँछौ’, थापाले भने ।
जिल्ला हुलाकमा कार्यरत जनशक्तीबाट नेपाल सरकारको नीति अनुसार सेवा प्रवाहलाई तिब्रता दिने उनको भनाई छ । हुलाक सेवालाई ‘सरकारी कुरियर’ का रूपमा विकास गर्ने गरी आवश्यक स्रोतसाधन समेत थप गर्ने तयारी भइरहेको हुलाक कार्यालय म्याग्दीले जनाएको छ ।
प्रजिअ आचार्यले जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयमार्फत हुने सेवा प्रवाह निशुल्क सेवा रहेको भन्दै थप सेवाहरुलाई पनि घरदैलोमै ल्याउने गरी योजना बनिरहेको बताए । उनले राहदानी उपलब्ध हुदाँ वित्तिकै हुलाक कार्यालयलाई उपलब्ध गराउने विधि र प्रक्रिया समेत सुरु गरेको समेत बताए ।





