शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सकियो लालीगुराँस उत्सव

सकियो लालीगुराँस उत्सव


  • ढोरपाटन संवाददाता
  • बैशाख ३ २०८३, बिहिबार

बागलुङ/‘गुराँसको पहाड’ले परिचित गलकोट र ताराखोलाको सिमानामा पर्ने घुम्टे लेकमा ‘लालीगुराँस उत्सव’ सम्पन्न भएको छ । घुम्टे लेकमा पूर्वाधार बनेपछि पर्यटन प्रवद्र्वन गर्न लालीगुराँस उत्सव आयोजना गरिएको हो ।

गलकोट घुम्टे पर्यटन विकास केन्द्रको आयोजना, गलकोट पण्डित समाज गलकोट एवम् लालिगुराँस उत्सव तथा विश्व शान्ति यज्ञ समिति गलकोटको सह–आयोजनामा लालिगुराँस उत्सव तथा चौँथो विश्व शान्ति कार्यक्रम गरिएको हो । सोमबारदेखि शुरु भएको उत्सव मंगलबारसम्म सम्पन्न भएको हो ।

वैज्ञानिक अध्ययन नभएपनि घुम्टे लेकमा दर्जन प्रजातिका गुराँस भएको अनुमान गरिन्छ । सडक विस्तार तथा फँडानीले गुराँसे वन मासिँदै गएपछि यसको संरक्षणमा उत्सव हुँदै आएको छ । समुद्री सतहदेखि १० हजार ३ सय ९३ फिटको उचाईमा रहेको घुम्टे लेक प्राकृतिक, धार्मिक र जैविक विविधताले महत्वपूर्ण मानिन्छ ।

गुराँस उत्सवमा पूर्वाङ्ग पूजा, रुद्री पाठ, साँझ भजन किर्तन, सन्ध्या आरती, सूर्यास्त अवलोकन गरियो भने दोस्रो दिन नित्यपूजा, संक्रान्ति द्धोष पूजा, नवग्रह शान्ति पूजा, २७ लाख लक्ष्यवर्ती दिप प्रज्वलन गरियो । उत्सवकै अवसरमा पदयात्राका क्रममा पर्यटकका लागि गोठथरीमा निर्मित पौवाको समेत उद्घाटन गरिएको घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंकबहादुर बस्नेतले बताए ।

पाँच पाण्डवहरु घुम्दै आउँदा ५ वर्षिय बालकले तपस्या गरेकाले सोही समयदेखी घुम्टेमा धार्मिक मेला लाग्ने गरेको र विभिन्न तपस्वीहरुले त्यहाँ तपस्या गरेको धार्मिक विश्वास रहेको गलकोट–७ का वडाध्यक्ष राजबहादुर थापाले बताए ।

पछिल्लो समय प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्था राख्ने पर्यटकको रोजाईमा घुम्टे लेक पर्न थालेको हो । गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अनुसार, वर्षेनी हजारौँ पर्यटकले घुम्टे लेक चढ्ने गरेका छन् । घुम्टे चढ्न सहज पदमार्ग र पूर्वाधार बनेपछि पर्यटकको संख्या बढ्दै गएको हो । घुम्टेको धुरीमा अवस्थित सिद्ध र भैरवको मन्दिरले धार्मिक पर्यटनलाई थप बढवा दिएको केन्द्रका अध्यक्ष बस्नेत बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->