शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बजेटको ठूलो हिस्सा सम्हाल्ने मन्त्रालयमा गोबिन्द नेपाली

बजेटको ठूलो हिस्सा सम्हाल्ने मन्त्रालयमा गोबिन्द नेपाली


  • ढोरपाटन संवाददाता
  • बैशाख ३ २०८३, बिहिबार

बागलुङ/पत्रकारिता, बिद्यार्थी राजनीति, पार्टी राजनीति र अभियानकर्मी भएर लामो समय खेलेको भूमिकाबाट बागलुङका गोबिन्दबहादुर नेपाली गण्डकी प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्री बन्न सफल भएका छन् ।

मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बुधबार मन्त्रीपरिषद हेरफेर गर्दा प्रदेश सरकारको सबैभन्दा धेरै बजेट भएको भौतिक पुर्वाधार मन्त्रालयको जिम्मा नेपालीको हातमा आइपुगेको हो । २०७४ सालदेखिनै गण्डकी प्रदेशसभामा महत्वपुर्ण पदमा बसेर राजनीतिक अभ्यास गरेका नेपालीले पटक पटक लाभको पद पाइरहेका थिए । मन्त्रीकै रुपमा भने उनले पहिलो अवसर पाएका हुन् ।

दलीत अगुवा र अभियानकर्मीको रुपमा उनले पाएको यो पद महत्वपुर्ण भएको जिल्लाबासी बताउँछन् । पर्वतको कुश्मा नगरपालिका–२ जन्मघर भएपनि बागलुङ नगरपालिका वडा नंं १ निवासी नेपाली एमालेको दुइ पटकसम्म केन्द्रीय सदस्य भएका हुन् । अहिले पनि उनी एमालेको बहालवाला केन्द्रीय सदस्य छन् ।

२०७४ मा संसद सदस्य नभएपनि नेपाली मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्यकालमा सचिवालय प्रमुखको रुपमा काम गरेका थिए । उनले गुरुङको राजनीतिक सल्लाहकारको रुपमा समेत रहेर काम गरेको उनको अनुभव छ ।

दोश्रो कार्यकालमा भने उनी एमालेको समानुपातिक तर्फको सांसद बनेर प्रमुख सचेतक बनेका थिए । २०७९ देखिनै प्रमुख सचेतकको भूमिकामा रहेका नेपाली अहिले भने सबैभन्दा धेरै बजेट संचालन गर्ने मन्त्रालयमा पुगेका छन् ।

झण्डै ३ वर्ष पत्रकारितामा सक्रिय रहेका नेपाली एमाले निकट अनेरास्ववियुको राजनीति र पार्टीको जिल्लादेखि केन्द्रीय राजनीतिमा सक्रिय बनेकै कारण यो पदमा पुगेका हुन् ।
२०५९ सालमा धौलागिरि बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित नेपाली एमाले जिल्लाको सदस्य, सचिव र गण्डकी प्रदेश सचिवसम्म भएका थिए । पार्टीको अध्यक्ष बन्ने मौका नपाएपनि उनले दुइ कार्यकाल केन्द्रीय सदस्य बनिसकेका छन् ।

दलीत आन्दोलनमा उनी निकै सक्रिय छन् । छुवाछुत बिरुद्दको अभियानदेखि राजनीतिमा दलीतलाई गरिने विभेदविरुद्व उनी कडा प्रतिवाद गर्न तम्सिन्छन् । दलीत अधिकारकै लागि उनले कहिले अनसन बसेका छन् भने प्रहरी प्रशासनको दमनविरुद्व पनि खरो रुपमा उत्रेका छन् । आन्दोलनको मोर्चामा उनी प्रायः अग्रभागमा लाग्दै आएका छन् ।

राजनीतिमा सक्रियता देखाएकै कारण २०६४ र २०७० सालको संविधानसभामा पनि उनी एमालेको समानुपातिक सूचिमा थिए । समावेशीताको कारण महिला संख्या बढाउनु पर्दा नेपालीले संविधानसभामा भने अवसर पाएनन् ।

एमालेमा केपी ओलीको पक्षमा निरन्तर लागेका नेपालीले पार्टीको फुटमा समेत अन्य नेतालाई समर्थन गरेनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->