शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अक्षरधामका प्रमुख मुनीवत्सल स्वामीद्वारा शालीग्राम संग्राहलय अवलोकन

अक्षरधामका प्रमुख मुनीवत्सल स्वामीद्वारा शालीग्राम संग्राहलय अवलोकन

उनले संसारका हिन्दुहरु एकताबद्द बन्नुपर्ने, क्षमाशिल, सरल र पारिवारिक रुपमा सत्सङमा लाग्नुपर्ने सुझाव दिए ।


  • ढाेरपाटन संवाददाता
  • बैशाख ३ २०८३, बिहिबार

बागलुङ/भारतको नयाँ दिल्लीमा रहेको अक्षरधामका प्रमुख मुनीवत्सल स्वामीले बागलुङको शालीग्राम संग्राहलयको अवलोकन भ्रमण गरेका छन् । शालीग्राम संग्राहलय भारतीय धार्मिक पर्यटकहरुको लागि आर्कषणको केन्द्र बनिरहेको बेला अक्षरधामका स्वामीले पनि संग्राहलयको अवलोकन गरेका हुन् ।

संसारको सबैभन्दा विशाल हिन्दु मन्दिरको रुपमा अक्षरधाम चिनिएको छ । उक्त धामका महन्तहरुले पनि शालीग्राम संग्राहलय, मुक्तिनाथ लगायतलाई विशेष रुपमा पुज्ने गरेका छन् । मुक्तिनाथसम्म पुग्ने लक्ष्यले आएका मुनीवत्सललाई बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, शालीग्राम संग्राहलयका प्रमुख ऋषि प्रपन्नाचार्यले बिहिबार स्वागत गरे ।

भेटमा मुनीवत्सलले शालीग्रामको संरक्षण, धार्मिक सहिष्णुता लगायतको सन्देश दिन आफु विभिन्न भेटमा लागेको बताए । उनले संसारका हिन्दुहरु एकताबद्द बन्नुपर्ने, क्षमाशिल, सरल र पारिवारिक रुपमा सत्सङमा लाग्नुपर्ने सुझाव दिए ।

अक्षरधाम निर्माण गर्ने महन्त स्वामीले ३ वर्षसम्म मुक्तिनाथमा बसेर तपस्या गरेको, धार्मिक क्षेत्रको भ्रमण गरेको र त्यसपछि संसारकै ठूलो मन्दिर बनाएकोले महन्त स्वामीले तपस्या गरेको क्षेत्रमा भारतीय भक्तजन आउने पनि बताए । फर्केर पनि धेरै भारतीयलाई भ्रमणमा पठाउने उनको भनाइ थियो ।

भारतको दिल्लीमा १ सय एकड जमिनमा २ सय ११ फिट अग्लो मन्दिर निर्माण गरिएको छ । यो मन्दिर हिन्दुको सबैभन्दा ठूलो हो । २००५ को नोभेम्बर ६ मा भारतका राष्ट्रपति एपिजे अब्दुल कलामले उद्घाटन गरेका थिए । २००७ मा यो मन्दिर गिनिज बुक आफ वल्र्डमा रेकर्ड समेत भएको इतिहास छ । मुनीवत्सलको साथमा अन्य पुजारी र धार्मिक भक्तजन पनि यात्रामा आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->