आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

साढे ३ वर्षअघि नै सञ्चालनमा आउनु पर्ने मंगला अस्पताल भवन बल्ल बन्न सुरु

साढे ३ वर्षअघि नै सञ्चालनमा आउनु पर्ने मंगला अस्पताल भवन बल्ल बन्न सुरु


  • अमृत बास्कुने
  • बैशाख ५ २०८३, शनिबार

म्याग्दी/ मंगला गाउँपालिका स्तरीय अस्पताल निर्माण सम्पन्न हुनुपर्ने मितिको साढे तीन वर्षपछि बल्ल पहिलो ढलान हुन लागेको छ । ढिलै भए पनि अस्पताल निर्माण हुन लागेपछि स्थानीय उत्साहीत भएका छन् ।

सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने सरकारी निर्णय अनुसार २०७७ पुस १५ गते मंगला गाउँपालिका–५ स्थित हाँडेभिरमा १० सैयाको अस्पताल भवनको शिलान्यास गरिएको थियो ।

तर ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण अस्पताल भवन निर्माणको काम अघि बढ्न सकेको थिएन । २०७९ असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने भवनको पटकपटक म्याद थप्दा पनि भौतिक प्रगति हुन सकेन । निर्माणको जिम्मा लिएको ठेकेदारलाई पटक पटक ताकेता गर्दा पनि काम तर्फ ध्यान नदिएको गाउँपालिकाका असिस्टेन्ट सब इन्जिनियर नगेन्द्र सापकोटाको भनाई छ । तर अहिले भने सन्दिपा निर्माण सेवाले जिम्मा लिएसंगै कामले गति लिएको देखिन्छ ।

अस्पताल भवन निर्माणका लागि गाउँपालिकाले ओमबुद्ध इन्टरनेशनल कन्सट्रक्शन काठमाडौंसँग २०७८ असारमा ९ करोड ११ लाख रुपियाँमा ठेक्का सम्झौता गरेकोे थियो । उक्त निर्माण कम्पनिले अर्का निर्माण व्यवसायीलाई कामको जिम्मा दिएको भए पनि काम नभए पछि तेश्रो निर्माण व्यवसायीले अहिले काम थालेको सापकोटाले जानकारी दिए । उनका अनुसार हालसम्म करिब २२ देखि २५ प्रतिशत भौतिक प्रगति भएको छ ।

ठेकेदारले समयमा भवन निर्माणको काम अगाडी नबढाउँदा संघीय सरकारबाट प्राप्त हुने बजेट प्राप्त गर्न कठिनाई हुनुका साथै ठेकेदारलाई काममा लगाउन ठूलो संघर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए । ‘योजनाको कार्यसम्पादन प्रगति प्रतिवेदनका आधारमा मात्र बजेट प्राप्त हुने हो । तर ठेकेदारले काम नगर्दा बजेट आउने कुरा पनि भएन’, उनले भने ।

२०८१ मंसिरमा ओमबुद्ध इन्टरनेशनलसँग सम्झौता गरेर सन्दिपा निर्माण सेवाले काम गरीरहेको उक्त कम्पनिका सदस्य जीवन गौतमले जानकारी दिए । उनका अनुसार हालसम्म एक करोड ४० लाख हाराहारी लगानी भएको भए पनि भुक्तानी भने पाइएको छैन । ओमबुद्धको करचुक्ता लगायका कागजातहरु प्राप्त नहुँदा गाउँपालिकाले भुक्तानी नगरेको उनको भनाई छ ।

‘हामी स्थानीय पनि हौं र हाम्रो जिम्मेवारीमा आए पछि अब तोकिएको मिति भित्रै काम सक्छौं’ सन्दीप निर्माण सेवाका अध्यक्ष डण्डपाणी गौतमले भने । उनका अनुसार गिटि बालुवा तथा रडहरु निर्माण स्थलमा आइ सकेको छ अब छिटै काम तिब्रतासाथ अगाडी बढ्छ । आगाामी मंसिर मसान्तसम्म भवन निर्माण सक्नु पर्ने समय सिमा छ ।
अपाङ्ग मैत्री तबरले निर्माण हुन लागेको १० सैयाको अस्पतालमा आवश्यक सम्पूर्ण पूर्वाधारहरु रहने असिस्टेन्ट सब इन्जिनियर सापकोटाको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->