बागलुङ/गण्डकी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री गोबिन्द नेपालीले आम नागरिकले सेवा पाउने खालका योजनामा लगानी गरी समयमा काम सक्ने बताएका छन् । उनले विकास बजेट र योजनाको तालमेल मिलाएर समानुपातिक रुपमा विकास निर्माण गरिने समेत बताए ।
नेपाल कम्युनिष्ट पार्टी एमाले बागलुङले आइतबार आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा नेपालीले कार्यकर्तालाई आम नागरिकको हितका योजना छनौट गर्न आग्रह गरे ।
नेपालीले राम्रा योजना छान्दा जनताले पनि पत्याउने र वास्तविक आवस्यकतामा पुगिने भन्दै व्यक्तिगत योजना छनौट नगर्न पनि आग्रह गरे । ‘राम्रा योजना छानौं, अत्यावस्यक योजना छानौं, आम नागरिकले पनि विश्वास गर्न सकुन्’ नेपालीले भने, ‘मन्त्रालयको बजेटको सिमा र आवस्यकतालाई प्राथमिकता दिने काम म गर्छु ।’
पछिल्लो समय विकास बजेट घटीरहेकोले कैयौ योजना अलपत्र परेका छन् । ती योजनाको वास्तविकता बुझ्ने प्रयास गर्ने पनि उनले बताए । त्यसका लागि सबै जिल्लाका विकासे अड्डाका प्रमुखको साझा बैठक बसेर अहिलेसम्म भएको बजेट, खर्च भएको बजेट र गर्न बाँकी कामको समीक्षा गर्ने पनि उनले सुनाए ।
एमाले बागलुङका सचिव गणेशबहादुर थापाको अध्यक्षता, उपसचिव धनबहादुर परियारको संचालनमा सम्पन्न कार्यक्रममा कार्यकर्ताले नेपाली मन्त्री भएकोमा बधाइ समेत ज्ञापन गरेका थिए । मन्त्री भएपछि नेपाली पहिलो पटक बागलुङ आएका हुन् ।





