पोखरा/होटलमा काम लगाइदिने भन्दै आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई यौनधन्दामा लगाउने चारजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले शनिबार साँझ सात बजे पोखरा ८ जाल्पारोडको खाजाघरबाट दुई महिला र दुई पुरुषलाई पक्राउ गरेको हो ।
प्रहरीले अनैतिक गतिविधि भई रहेको भन्ने सूचनाको आधारमा सुरुमा होटलको काममा लगाउने र केही समय पछी होटलमा आउने पुरुषहरुबाट रकम लिई जबरजस्ती रात बिताउन लगाउने, अनैतिक कार्य गर्न लगाउने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला मोरङ कसेरी घर भई हाल पोखरा १७ बस्ने २१ वर्षकी युवती, सिन्धुली घर भई पोखरा ८ बस्ने खाजाघर चलाउने ३१ वर्षकी महिला, पोखरा २६ बुढीबजारका ५० वर्षीय विष्णु बहादुर राजभाट र भारतको बिहार घर भई पोखरा ९ नयाँबजार बस्ने ३१ वर्षका अमिल उल्ला मिया रहेको छन् ।
कास्की प्रहरीका निमित्त सूचना अधिकारी गणेश पाण्डेका अनुसार उक्त खाजाघरबाट दुई बालिकाको उद्धार गरिएको छ । पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारपसार मुद्धामा पाँच दिन म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।





