आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

थकाली चेलीको संसद यात्रा

थकाली चेलीको संसद यात्रा

काठमाडौंमै जन्मेकी बायोकेमेष्ट्रीकी ज्ञाता ओजश्वी शेरचनको काँधमा शिक्षा सुधारको भारी


  • ढोरपाटन संवाददाता
  • बैशाख ७ २०८३, सोमबार

पोखरा/राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा थकालीहरुको जनसंख्या ११ हजार ७७१ रहेको छ । तीमध्ये ६ हजार १२१ जना महिला छन् । थकाली महिलाहरु सीपका कारणले प्रख्यात छन् । मुस्ताङको थाकखोला मुलथलोबाट देशका विभिन्न भागमा छरिएका उनीहरुसँग ‘थकाली खाना’ पनि जोडिएको छ । हो, धान खेती नै नहुने मुस्ताङका यी थकालीहरु मधेशमा पल्ने चामलमा सीप मिसाउँछन् । कसरी भातसँग दाल,तरकारी र अचारको बाना मिलाउने भन्नेमा खप्पिस छन् । त्यही सीप नै उनीहरुको चिनारी बनेको छ । नेपालको अल्पसंख्यक जनजातिमा पर्ने थकालीहरुलाई आर्थिक र सामाजिक सूचकाङ्कहरुले माथिल्लो दर्जा दिन्छ । अर्थात् उनीहरु शिक्षित र धनी पनि छन् ।

अहिले यही करिब १२ हजार हाराहारी जनसंख्या रहेको थकाली जातिको प्रतिनिधित्व गर्दै मुस्ताङबाट योगेश गौचन थकाली र समानुपातिकतर्फबाट ओजश्वी शेचरन थकाली संघीय संसदमा पुगेका छन् । नेपाली कांग्रेसको प्रतिनिधित्व गर्ने योगेश अहिले पनि मुुस्ताङमै बसोबास गर्छन् तर यजश्वीको हकमा भने केही फरक छ । उनी जन्मले काठमाडौंबासी हुन् । यही वैशाख ४ गते संसदको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति चुनिएकी ओजश्वी जन्मले चाहिँ काठमाडौंकै हुन् । उनका पिता पोखरामा बस्थे । पढ्ने हुट्हुटी भएका उनी त्यसपछि काठमाडौं हान्निए । काठमाडौंमा पानीपोखरीमा अडिए । बायोकेमेष्ट्री पढे । प्राध्यापक बने । मुस्ताङबाट पोखरा अनि पोखराबाट काठमाडौं पुगेका उनले पूर्वकी गुरुङ्सेनीसँग माया साँटे । बायो केमेष्ट्री (रसायन विज्ञान) का उनै प्राध्यापककी छोरी ओजश्वी शेरचनले पनि पिताकै पथ पच्छ्याइन् । भारत कालिम्पोङमा रहेको सेन्ट जोसेफ कन्भेन्टबाट कक्षा १० पास गरेपछि काठमाडौं फर्केर युनिभर्सल एकेडेमीबाट १२ कक्षा सकिन् । नेपाल मेडिकल कलेज अत्तरखेलबाट एमबीबीएस गरिन् अनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बायोकेमेस्ट्री विषयमा एमडी पनि सकिन् ।

‘मेरो स्कूलेजीवन होस्टलमै बित्यो । एमडी पनि मैले बिपी कोइराला स्वास्थ्यविज्ञानबाट गरेँ । त्यहाँ पनि होस्टल नै बसेको हो,’उनले ढोरपाटनसँगको कुराकानीमा भनिन्,‘त्यसपछि बीपीमै काम गरेँ ।’

ओजश्वीले पिताले जस्तै अन्तरजातीय विहे रोजेकी थिइन् । उनका पति डा कुञ्जन शेर्पा वीर अस्पतालका मुटुरोग विशेषज्ञ साथै नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष छन् । उनी कलेजको प्राध्यापक र गृहिणी दुबै थिइन् । सामाजिक काममा पनि चासो थियो । त्यही मेसोमा उनले आफूलाई मिसेस नेपाल २०२३ मा सहभागिता जनाइन् । त्यो प्रतिस्पर्धामा ओजश्वीले मिसेस नेपालको ताजमात्र प्राप्त गरिनन्,पब्लिक च्वाइस विधाको उपाधि पनि पाइन् । जनताको मत पाएकी ओजश्वीको जीवनमा नयाँ मोड आयो । राजनीतिमा चासो भएकी तर त्यसमै सामेल हुनेबारे नसोचेकी उनलाई गएको भदौ २३ मा सुरु भएको नवयुवाको आन्दोलनले छोयो रे ! नवयुवाहरु भकाभक मारिँदा तातेको रगतले उनलाई विद्रोहीमात्र बनाएन, राष्ट्रिय स्वतन्त्र पार्टीसँग आवद्ध गरायो । ओजश्वीले रास्वपाको सदस्यता लिइन् । सदस्यता के लिनु थियो ? फागुन २१ को चुनावमा उनी जनजातिबाट समानुपातिक सांसदमै छानिइन् । रास्वपाले अद्भूत चुनावी नतिजा ल्याएपछि चाहिँ उनको संसद यात्रा सम्भव भयो । ओजश्वी माननीय बनिन् ।

काठमाडौंमा जन्मेकी ओजश्वी थकाली जातिको प्रतिनिधित्व गर्छिन् । उनी सांसद भएसँगै मुस्ताङवासी र खासगरी थकालीहरुले उनीबाट केही अपेक्षा गरेकै छन् । काठमाडौंमै बसे पनि उनले हिमालपारिको संस्कृति बिर्सेकी छैनन् ।

‘चाडबाडमा हामी आफन्तहरु हाम्रै घरमा भेला हुुन्थ्यौँ । स्कूल पढ्दा होस्टेल बसियो,’थकाली खाना बनाउन आउँछ भन्ने हाम्रो प्रश्नमा उनले भनिन्,‘पछि मैले खाना कसरी बनाउने भनेर आमासँग सिकेँ । थकाली खाना भनेको दालभात नै हो । त्यसमा अलिकता अचारको भेराइटी हुन्छ । दाल सिमीको हुन्छ । थकाली खानामा घ्यू पनि चल्छ । तर, हाम्रो परिवारमा ब्लड प्रेसरको समस्या । धेरै घ्यूले फाइदा गर्दैन भनेर म चाहिँ कम प्रयोग गर्छु । बच्चाहरुलाई सधैँ सिमीको दाल पनि मन पर्दैन । त्यसमा क्यालोरी पनि बेसी नै हुन्छ । म खाना चाहिँ पकाउँछु । हामीले स्वास्थ्य पनि हेर्नुपर्छ । लामो समयसम्म कुन कुराले फाइदा गर्छ भन्ने ध्यान दिनुपर्छ ।’

प्रयोगशालामा काम गर्ने र स्वास्थ्यबारे सचेत ओजश्वीले आफू ८ वर्षयता मुस्ताङ नआएको पनि बताइन् ।

‘८ वर्षअघि आफन्तको विहेमा गएको हो, त्यसपछि मिलेको छैन,’उनले भनिन्,‘तर,मुस्ताङसँग मेरो गहिरो नाता छ ।’

उनले त्यहाँ खेलिने तारा खेललाई व्यावसायिक बनाउन सकिने सम्भावनाको कुरा गरिन्,पर्यटनको नयाँ आयामबारे पनि छलफल गर्ने बताइन् ।

‘त्यहाँ उत्पादन हुने खुर्पानीको जुसलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न सकिन्छ । त्यो जुसमा एन्टी अक्सिडेन्ट बढी छ । तारा खेललाई प्रवद्र्धन गर्न सकिन्छ । त्यहाँका आदिवासीहरुलाई बढी सहुलियत दिने कुरा गर्न सकिन्छ । त्यहाँको पर्यटन राम्रो छ तर अझै राम्रो बनाउन सकिन्छ,यी सबै कुरा गर्न सकिन्छ,’उनले थपिन् । शिक्षा,स्वास्थ्य र सूचना प्रविधिको क्षेत्रमा सुधार गर्ने उनको प्रतिवद्धता छ ।

ओजश्वी थकालीहरुको मुख्य ४ थरमध्येको एक शेरचनकी छोरी हुन् । हिमाली संस्कृति उनको रगतमै छ । हिमाली जाति शेर्पासँग लगनगाँठो कसेकी उनले १२ वर्षमा आउने थकालीहरूको प्रमुख चाड ‘ह्ला फेवा’बारे सुनेकी छन् तर त्यसमा भाग लिएकी छैनन । तिब्बती पात्रो अनुसार हरेक १२ वर्षमा आउने ‘बाँदर वर्ष’ पारेर कात्तिक महिनामा गरिने यो जात्रामा भाग लिने इच्छा चाहिँ उनले सुनाइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->