बागलुङ (खर्वाङ)/केही अघिदेखि अदुवाबारी सामुदायिक वनमा लागेको आगो गाउँमा फैलिँदा एक घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । पश्चिम बागलुङको बडिगाड गाउँपालिका वडा नं. ४ जलजलाको वनमा लागेको आगो बस्तीमा पस्दा घरमा क्षती भएको हो ।
बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरको अदुवाबारी वनमा लागेको आगो बस्तीसम्म फैलिँदा वडा नं. ४ जलजला दिपपार कुलो मुनीको एक घरमा क्ष्तीत पुगेको बडिगाड गाउँपालिकाका नगर प्रहरी हबल्दार कमल रानाले जानकारी दिए ।
रानाका अनुसार, ५७ वर्षिय चन्द्री बुढाको घर आगलागीले पुर्ण क्षती गरेको छ । आगलागीबाट घरमा रहेको अन्नपात, लत्ताकपडा र अन्नपात जलेर नष्ट भएको छ । घरमा लागेको आगो र बस्ती आसपासको वनमा लागेको डढेलो स्थानीय, नगरप्रहरी र नेपाल प्रहरीको सहयोगमा नियन्त्रणमा लिईएको छ ।
सोमबार दिउँसो साढे १ बजेको समयमा फैलिएको आगोले जस्तापाताले छाएको एकतले कच्ची घर पुर्ण रुपमा नष्ट भएको ग्वालीचौर प्रहरी चौकीका प्रहरी साहायक निरिक्षक सम्मर बहादुर लम्तरीले पुष्टि गरे । आगलागीमा परेर गोठमा बाँधेको एउटा भैंसी समेत जलेर गम्भिर घाईते भएको लम्तरीले बताए ।
आगलागीबाट घरमा भएको क्षती र अदुवाबारी वनमा कस्ले र किन आगो लगाएको भन्ने विषयमा अनुसन्धान भईरहेको लम्तरी बताए । आगलागीबाट भएको क्षतीको विवरण भने आउन बाँकी रहेको छ । तीन छोरा र एक छोरीसहित चन्द्रीको परिवार अहिले घर नजिकैको आफ्नै गोठ शरण लिएको लम्तरीले जानकारी दिए ।





