आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीमा चैत महिनामा ४४ सवारी दुर्घटना, २४ जनाको मृत्यु

गण्डकीमा चैत महिनामा ४४ सवारी दुर्घटना, २४ जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०८३, मंगलबार
फाइल तस्विर

पोखरा/ नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पोखराले चैत महिनमा भएका सवारी दुर्घटना, कारवाही र सचेतनामूलक गतिविधिसहितको प्रगति विवरण सार्वजनिक गरेको छ ।

कार्यालयका अनुसार एक महिनाको अवधिमा ४४ वटा सवारी दुर्घटना भएका छन्, जसमा ५५ सवारी साधन संलग्न थिए । ती दुर्घटनामा परी २४ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । घाइतेमध्ये ४० जनाको अवस्था गम्भीर र १० जनाको अवस्था सामान्य रहेको बताइएको छ ।

दुर्घटनाका प्रमुख कारणमध्ये तीव्र गति सबैभन्दा बढी देखिएको छ । तीब्र गतिका कारण २१ दुर्घटना भएका छन् । त्यस्तै मादक पदार्थ सेवनका कारण ६ र चालकको असक्षमताका कारण ३ दुर्घटना भएका छन् । साथै सवारी साधनका कारण, सडकको अवस्था र पैदल यात्रीको लापरवाही पनि दुर्घटनाका सहायक कारणका रूपमा उल्लेख गरिएको छ ।

ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि कडाइ गर्दै कार्यालयले चैत महिनामा १ करोड १९ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यस अवधिमा कुल १३ हजार ७९६ सवारी साधन कारबाहीमा परेका छन् । स्वरूप परिवर्तन गरेका ६० मोटरसाइकललाई नियन्त्रणमा लिई ४ लाख ५० हजार ५ सय रुपैयाँ जरिवाना गरिएको छ ।
त्यस्तै मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १ हजार २२१ जना चालक र लागू पदार्थ सेवन (लापसे) गरेका १२ जनामाथि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

सचेतनामूलक कार्यक्रमअन्तर्गत २ हजार ९७५ पटक विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो, जसबाट १ लाख ३ हजार २४२ जना लाभान्वित भएका छन् । पोखराको पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा यात्रुलाई दुःख दिने ८ जना बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको छ ।

यसैबीच, हराएका ८ सवारी साधन (६ मोटरसाइकल र २ स्कुटर) तथा विभिन्न मोबाइल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको प्रहरीले जनाएको छ । पूर्वाधार सुदृढीकरणअन्तर्गत मुस्ताङको घरपझोङमा सिसीटिभी मर्मत, लमजुङमा ब्रेथलाईजर मेसिन प्राप्त तथा विभिन्न स्थानमा ट्राफिक संकेत बोर्ड र कन्केभ मिरर जडान गरिएको छ ।

कर्मचारीको मनोबल उच्च राख्न ‘टी विथ द टिम’ र ‘नेचर वाक’ जस्ता कार्यक्रम सञ्चालन भइरहेको कार्यालयले जनाएको छ । कार्यालयका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईका अनुसार राजमार्ग सुरक्षा गस्ती र सवारी चेकजाँचलाई अझ प्रभावकारी बनाउँदै लगिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->