पोखरा/कास्की जिल्लाका प्रशासनिक कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरूसँग सोमबार पोखरामा भएको बैठकमा प्रतिनिधि सभा सदस्य उत्तम पौडेलले कार्यशैलीमा आमूल परिवर्तन गर्न कडा निर्देशन दिएका छन् । उनले विगतमा नेताको पहुँच, भनसुन र चिटका आधारमा हुने कामको संस्कृतिलाई तत्काल अन्त्य गर्नुपर्ने बताएका हुन् ।
बैठकमा बोल्दै सांसद पौडेलले सुशासन नारामा मात्र सीमित नभई हरेक सरकारी कार्यालयको व्यवहार र सेवा प्रवाहमा देखिनुपर्नेमा जोड दिए। “जनताको गुनासो सुन्ने पहिलो जिम्मेवारी तपाईंहरूको हो, जनताले मसम्म आउनु पर्ने अवस्था आउनु हुँदैन,” उनले स्पष्ट पारे। उनले कार्यालयभित्र विचौलियाको चलखेल, दादागिरी र कोठा–कोठा धाउने प्रवृत्ति अब सह्य नहुने चेतावनी दिए। सेवा प्रवाहलाई पारदर्शी, सरल र जनमुखी बनाउन कर्मचारीहरूलाई निर्देशन दिँदै उनले विगतका गलत अभ्यासहरूलाई त्याग्न आग्रह गरे ।
सांसद पौडेलले कर्मचारी र जनताबीचको दूरी घटाउनुपर्ने उल्लेख गर्दै बारम्बार गुनासो आउने अवस्थालाई गम्भीर रूपमा लिन आग्रह गरे। “अब कुनै पनि सेवा चिटका भरमा होइन, विधि र प्रक्रियाअनुसार हुनुपर्छ,” उनले भने। उनले थपे, “यदि कुनै पनि कार्यालयबाट सेवा दिन ढिलाइ वा झन्झट भयो भने सम्बन्धित निकायमा सिधै उजुरी गर्नुस्, म स्वयं पनि त्यसमा संलग्न हुनेछु।” २२ वर्षको पत्रकारिता अनुभवको आधारमा उनले गलत परम्परालाई पखाल्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए ।
बैठकमा सुरक्षा निकायलाई समेत विशेष निर्देशन दिँदै पोखरालाई शान्त, सुरक्षित र पर्यटकमैत्री बनाउन उनले जोड दिए । विगतमा भएका घटनाबाट पाठ सिक्दै यस्ता दुर्घटना हुन नदिन सबै सचेत रहन उनको आग्रह थियो । कार्यक्रम कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा सहभागी सबै निकायलाई जनतामुखी सेवा, सुशासन र विधिको शासन कार्यान्वयनमा प्रतिबद्ध रहन आग्रह गरिएको छ ।





