पोखरा/कास्कीको पर्यटकीय गाउँपालिका माछापुच्छ्रेमा गुफाको प्रबद्र्धन र विकासका लागि श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको आयोजनामा आगामी बैशाख १७ देखी २४ गतेसम्म लाहाचोक जोगिचौर मणिपरिसरमा उक्त महायज्ञ हुने भएको हो ।
महायज्ञबारे जानकारी दिन पोखरा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ प्रचार प्रसार संयोजक यामबहादुर गुरुङले माछापुच्छे्र गाउँपालिका पर्यटकीय पालिका रहेपनि पर्यटन प्रबद्र्धनको अभाव खडा भएको बताए । उनले प्रकृतिले दिएको वरदान संगै धार्मिक र सांस्कृतिक गुफा रहेपनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको सुनाए ।
उनका अनुसार गुफाको विकासका लागि समितिले महायज्ञको आयोजना गर्न लागेको हो । राज्यको निकायबाट गुफाको संरक्षण, पूर्वाधार निमार्ण र प्रबद्र्धनका लागि बजेट विनियोजन हुँदै आइरहेपनि हाल बजेट अपुग भएकाले महायज्ञको आयोजना गर्न लागेको जानकारी दिए ।

यस्तै महायज्ञ मुल समारोह समित संयोजक क्याप्टेन डम्बरसिंह गुरुङले पातिखोला गुफा हिन्दुधर्म संग जोडिएको क्षेत्र भएकाले धार्मिक पर्यटन प्रबद्र्धन आजको आवश्यकता रहेको सुनाए । उनले महायज्ञबाट उठेको रकमले गुफा जानका लागि र गुफा भित्र आवश्यक व्यवस्थापन गरिने सुनाए । धार्मिक तथा सांस्कृतिक इतिहास बोकेको गुफा वर्षको ३ पटक उक्त स्थानमा महोत्सवको आयोजना हुँदै आइरहेको छ ।
तर, बढ्दो बसाईँ सराईका कारण लामो समयदेखी निरन्तर रुपमा महोत्सवको आयोजना हुन सकिरहेको छैन् । जसका कारण गुफा र सो गाउँको मौलिकता हराउँदै गइरहेको छ । गुफालाई जोगाउँदै पुनः ३ वटै महोत्वस सञ्चालन गर्न र प्रबद्र्धनका लागि आगामी बैशाख १७ देखी २४ गतेसम्म महायज्ञ हुन लागेको संयोजक गुरुङले बताए ।
गण्डकी प्रदेश सरकारले २०७५ सालमा गुफाको प्रबद्र्धन गर्नका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको थियो । जसले डिपिआर तयार गरिएको थियो । समितिका सचिव रुद्रनाथ अधिकारीका अनुसार पर्यटन पूर्वाधार अन्तरगत प्रदेश सरकारले ४० लाखको बजेट दिएको थियो । त्यसपछि वाल लगाउनका लागि १५ लाख दिएको थियो भने बाटोका लागि पुनः पाँच लाखको बजेट छुट्टिएको थियो । यस्तै कुलो निर्माणका लागि ८ लाख रुपैयाँको काम सम्पन्न भएको थियो ।
धार्मिक तथा सांस्कृतिसंग जोडिएकाले पछि पुरातत्व विभागले अध्ययन गरि त्यसलाई ७५ लाख विनियोजन गरेको थियो । पुरातत्व विभागले अध्ययनको क्रममा त्यहाँ एउटा शिलालेख भेटाएपछि त्यसको संरक्षणका लागि बजेट विनियोजन गरेको सचिव अधिकारीले सुनाए । तर, गुफाको प्रबद्र्धन र प्रचार हुन नसक्दा निकै पछि परेको सुनाए ।
माछापुच्छेु गाउँपालिकाका प्रवक्ता गणेश आचार्यले पालिकाले आवश्यक सहयोग गरेपनि राज्यका विभिन्न निकायबाट नै बजेट विनियोजन भएकाले यसमा डुप्लिेकेशन गर्न नचाहेको बताए । गुफाको संरक्षणमा पालिकाले भूमिका खेल्दै आइरहेको उनको भनाइ छ । माछापुच्छ्े गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष मधुसुधा अधिकारीले गुफाको प्रबद्र्धनका लागि वडाले सक्दो सहयोग गर्दै आइरहेको सुनाए । वडाले सोमबार वडावासीसंग छलफल समेत डोकेको र महायज्ञ अवधिभर वडाभित्र रहेको विभिन्न आमा समुह, संघसंस्था, क्लबको तर्फबाट हरेक दिन सहभागि भइ सहयोग गर्ने बताए । गुफाको प्रबद्र्धन गर्न सकेमा त्यहाँको क्षेत्रको विकास हुने उनले सुनाए ।
माछापुच्छे्र गाउँपािलका वडा नम्बर ४ र ५ को सिमानामा पर्ने उक्त गुफा पोखरा टुँडिखेलबाट १० किलोमिटर उत्तरपश्चिममा रहेको छ ।





