पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ५ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीले वैशाख ८ गते विशेष अभियान सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकाहरूलाई कास्की जिल्ला अदालतबाट विभिन्न मितिमा कैद तथा जरिवाना तोकिएको थियो, तर उनीहरू फरार रहँदै आएका थिए।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये २ जना अभद्र व्यवहार, २ जना चोरी सम्बन्धी र १ जना चेक अनादर मुद्दामा संलग्न रहेका छन्। उनीहरूबाट कुल १३ हजार रुपैयाँ जरिवाना असुल गरी आवश्यक कारबाहीका लागि अदालतमा बुझाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाइएको र आगामी दिनमा पनि यस्ता कार्य जारी रहने जानकारी दिए।





