बागलुङ/सशष्त्र द्वन्द्वका पीडितले सत्य जान्न पाउने अधिकार राज्यले नदिएको गुनासो गरेका छन् । एड्भोकेसी फोरम नेपालले बागलुङ नगरपालिकाको सहयोगमा आयोजना गरेको द्वन्द्वपीडितको सवाल र स्थानीय सरकारको भूमिका बिषयक अन्तरक्रियाका सहभागिले आफ्नो घरको परिवार मारिएको, बेपत्ता भएको वा अन्य घटनामा परेको सूचना समेत राज्यले नदिएको गुनासो गरेका हुन् ।
उनीहरुले अझैपनि स्थानीय सरकारले आयआर्जन लगायतका पहुँचमा साथ दिनुपर्ने धारणा राखे । पीडितहरुको मुख्य माग भने सत्य थाहा पाउने अधिकार भएको बताए । सत्य थाहा पाउने दिवश २०२६ को अबसरमा पीडित बीच उक्त अन्तरक्रिया राखिएको एड्भोकेसी फोरम गण्डकी प्रदेशकी संयोजक कुञ्जनी परियारले जानकारी दिइन् । उनले सत्य थाहा पाउने अधिकार पीडितको भएको बताइन् । साथै अबका दिनमा कसरी पीडितले परिपुरण पाउन सक्छन् भन्ने कुरा सरकारले पनि चासो राख्नुपर्ने धारणा राखिन् । उनले जेनजी आन्दोलनका पीडितलाई झै पहिलाका पीडितको पनि माग सुन्नुपर्ने बताइन् ।
कार्यक्रममा परियार सहित अधिवक्ता राम शर्माले पीडितको अधिकार, सत्य जान्न पाउने र राज्यले परिपुरण गर्ने बिषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा पीडितहरु बद्रीबहादुर केसी, श्यामबहादुर बिक, जसोदा शर्मा, देवी सिउठानी लगायतले धारणा राखेका थिए । कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले पीडितलाई आयआर्जनका कार्यक्रममा जोड्न सकिने बताए ।
उक्त अबसरमा जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले पीडितले अझैपनि पीडा महसुस गर्नु दुःखदायी भएको भन्दै तीनवटै तहका सरकारले सम्बोधन गर्न सक्ने बताए । त्यसकालागि सबैको साझा आवाज चाहिएको र ठोस कार्यक्रममा लगानी गर्न सके उपलब्धीपनि आउने बताए । कार्यक्रममा नगर उपप्रमुख राजु खड्का, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य लगायतले धारणा राखेका थिए ।
बागलुङमा अहिले पनि १७ जना बेपत्ता छन् भने डेढसय बढी मृतक परिवार छन् । गत भदौको जेनजी आन्दोलनमा मृत्यु भएका र घाइतेलाई सरकारले कुनै न कुनै रुपमा सम्बोधन गरेको तर सशष्त्र द्वन्द्वका पीडित अझै पिडामै रहेको उनीहरुको गुनासो थियो ।





