बागलुङ/बालबालिकाको अधिकारको सुरक्षा गर्दै समाजमा हुने विकृति विसंगतिबाट बालबालिकालाई जोगाउन पहल गर्नुपर्ने सरोकारवालाको भनाइ छ । बालबालिकामाथी हुने हिंसा सहन नसकिने र त्यसको उपचार खोजिनुपर्ने पनि उनीहरुको भनाइ छ ।
जिल्ला बाल अधिकार समितिको बैठकमा सहभागिले बालमैत्री पालिका अभियानको सुक्ष्म अनुगमन गर्ने, बालबालिकाको नैसर्गिक अधिकार रक्षा गर्ने, शिक्षा, स्वास्थ्य जस्ता अधिकार स्थापित गर्न सरोकारवालाको ध्यानाकर्षण गराउने निर्णय गरेको समितिका सदस्यले बताए ।
एकीकृत सेवा कार्यालयको समन्वयमा बुधबार समितिको बैठक बसेको हो । औपचारिक रुपमा पहिलो पटक बसेको बैठकमा बालअधिकारको क्षेत्रमा कार्यरतहरुले बाल बिज्याइमा अनावस्यक सजाए दिएको समेत अनुगमन गर्ने बताए ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख प्रकाशबन्धु अर्याल, एकीकृत सेवा कार्यालयका प्रमुख शिव शर्मा, प्रहरी नायव उपरिक्षक बसन्तजंग पाण्डे, जिल्ला अदालतका प्रतिनिधि रामचन्द्र उपाध्यायले बालअधिकारलाई सामान्य ठान्न नहुने बताएका थिए ।
सामाजिक विकास कार्यालय र पर्यटन कार्यालय गाभिएर बनेको एकीकृत सेवा कार्यालय स्थापनापछि पहिलो पटक यो बैठक बसेको थियो । यो बैठकले अब बालअधिकारको क्षेत्रमा संस्थागत रुपमा काम गर्दै जाने र अहिले सम्मका गतिविधिको अध्ययन र समीक्षा गर्ने निर्णय गरेको छ । बाल क्लब जिल्ला तथा नगर समन्वय समितिका पदाधिकारी पनि बैठकमा सहभागि थिए ।





