बागलुङ/कालीगण्डकी करिडोरको बलेवादेखि मालढुंगा सडक तोकेको समयमा नसकिंदा अलपत्र जस्तै छ । बलेवादेखि रिडी सम्मको खण्ड कालोपत्र गरेर सरासर चल्ने बनिसक्दा यो छोटो खण्ड पनि अलत्रप परेको हो ।
ठेकेदार कम्पनीले तोकेको समयमा यो सडक बनाउन सकेनन् । गतवर्ष बागलुङ नगरपालिका वडा नं. १३ को कालाखोलामा खसेको पहिरो देखाएर ठेकेदार कम्पनीले अन्य खण्डमा पनि सडक पुरा गरेका छैनन् ।
पहिलो पन्छाउनुको साटो ठेकेदार कम्पनीले त्यहींको सामाग्री क्रसरमा कुटेर अन्य आयोजनामा लैजाने गरेका छन् । पहिरो भने अझैपनि ज्युँकात्युँ छ । पहिरोको पानी रसाएर सडक हिलाम्मे बन्छ । सवारी साधन बेला बेलामा यहाँ फस्ने गरेको जैमिनी नगरपालिका वडा नं. ७ का थानेश्वर सुवेदीले गुनासो गरे । उनले ठेकेदारले पहिरोको सामान बेच्न सडक ढीला गरेको टिप्पणी गरे ।
त्यस्तै क्रसर अन्यत्र सार्नुपर्ने अवस्था देखेर ठेकेदारले आसपासका सबै योजना सक्न मुल सडकको काम रोकोको पनि आरोप लागेको छ । पहिरो नजिकको कच्ची सडक स्तरोन्नती नभएपछि माइक्रोबस, ट्याक्सी लगायतका साना सवारीमा यात्रा गर्न खोज्नेले करिडोरको यात्रामा निस्कन पाएका छैनन् । ठूला सवारीले पनि जोखिम मोलेर यात्रा गरिरहेका छन् । पछिल्लो समय बुटवलदेखि छोटो दुरी पर्ने भन्दै बागलुङ, म्याग्दी र मुस्ताङ हिंडेका यात्रुबाहक सवारी समेत कालाखोलाको पहिरोमा आएर घण्टौं जाममा पर्ने गरेका छन् । खाद्य सामाग्री बोकेका ट्रक पनि यहाँ आएर रोकिने गरेको गुनासो छ ।
यता ठेकेदार कम्पनीका प्रतिनिधि दिनबन्धु काफ्लेले भने पहिरोको कारण नै काम ढीला भएको स्पष्टीकरण दिए । उनका अनुसार, असार सम्ममा कालोपत्रे गर्ने लक्ष्य छ । तर अहिले पनि सडकको कतिपय स्थानमा सब–बेस समेत बिच्छाउन बाँकी छ । छहरा नजिकै कल्भर्ट बनिरहेको छ । त्यस स्थानमा सडक ढलान गर्नुपर्ने भएकाले अझै ढीला हुन सक्ने प्राविधिक बताउँछन् । कालीगण्डकी करिडोरका इन्जिनियर शिवलाल दाहालले भने ताकेता भैरहेको र बजेट अभाव नहुने, केवल काम मात्रै छिटो गर्न भनिएको बताए ।
त्यसो त मध्यपहाडी लोकमार्गको बागलुङ घोडाबाँधे सडक पनि बनिसकेको छैन । अन्यत्र बनेर मर्मत भैसक्दा यो खण्डका दुइ ठेकेदार अघिल्लो वर्ष कालोसूचिमा परेपछि नयाँ ठेक्कामा गएर काम थालिएको छ । तर कहिले बनिसक्छ भन्ने यकिन छैन ।
यो सडक खण्ड अलपत्र पर्दा पश्चिम नेपालका धेरै जिल्लाबाट राजधानी हिंडेका यात्रीले सास्ती पाएका छन् । अन्यत्र सरर सवारी चलेर आएकाहरु यहाँ आएपछि अप्ठ्यारोमा हिंड्न बाध्य छन् । धुलो र हिलोले सताएको यात्रीहरुको गुनासो छ । ठेकेदार कम्पनीलाई छिटो काम सक्न भने लोकमार्ग आयोजना कार्यालयले ताकेता गरिरहेको आयोजना प्रमुख अनुक्षा घिमिरेले बताइन् । उनले कतिपय काम खरिद ऐनलगायतले समस्या भएको पनि बताइन् ।
त्यसो त मुख्य सडक मात्र होइन, जिल्लाका शाखा सडक पनि समयमा बनेका छैनन् । मालढुंगा–कुश्मीसेराको एक्लेसाल पहिरो बनाउने काम ५ वर्षदेखि अलपत्र छ । त्यो कामका लागि समेत पटक पटक प्रदेश सरकार, रुपाताल आयोजना कार्यालय लगायतले परीक्षण गर्दै छाड्दै गर्दा यात्रीले भने दुःख पाएका हुन् ।
अदालत चौपारीदेखि तित्याङ हुँदै भकुण्डे जाने सडक पनि अझै बनिसकेको छैन । तीनचार वर्षदेखि नै यो सडक नबन्दा स्थानीयले हैरानी खेपेको बताउने गर्छन् । वडा अध्यक्ष तिलबहादुर थापाले त धेरै पटक आयोजनामा धाएर पनि केही नलागेको बताए । यो सडक पनि बिडारी कन्स्ट्रक्सनले नै जिम्मा लिएको हो । यो सडक एशियाली विकास बैंकको साझेदारीमा बन्न लागेको हो । २८ करोड लगानीमा १५ किमी सडक बन्दै गरेकोमा ठेकेदारकै कारण ढीला भएको आरसिआइपीका सिनियर डिभिजन इन्जिनियर दयाराम शर्माले बताए । उनले अनुगमन गरेर छिटै काम सक्न लगाएको बताए ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले भने अलपत्र संरचनाका कारण सरकारप्रति जनताको समेत विश्वास कम भएको भन्दै छिटो काम सक्न ध्यानाकर्षण गराएका छन् । उनले आयोजना गरेको बुधबारको बैठकमा सबै सडकसँग सम्बन्धीत आयोजना प्रमुख, ठेकेदार समेत थिए । बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले भने ठेकेदारहरुले बाहना बनाएर काम रोक्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।





