बागलुङ/बागलुङ नगरपालिकाअन्तर्गतको न्यायिक समितिमा चालु आर्थिक वर्षको साउनदेखि चैत्र मसान्त सम्मको ९ महिनामा २१ उजुरी दर्ता भएका छन् । गत आर्थिक वर्षबाट दायित्व सरेर आएका ८ उजुरी छन् ।
दर्ता भएकामध्ये १५ उजुरीमा मेलमिलाप भएको छ । दुई विवादमा फैसला भएको छ । एक उजुरी भने जिल्ला अदालतसम्म पुगेको छ । एक उजुरी फिर्ता हुँदा महिनामा १९ उजुरी फछ्र्यौट भएका छन् । तीन विवाद तामेलीमा छन् । ७ उजुरी फछ्र्यौटको चरणमा छन् ।
फछ्र्यौट हुन बाँकी रहेका उजुरीउपर कारवाही चलिरहेको बागलुङ नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक राजु खड्काले जानकारी दिए । खड्काका अनुसार, रुखबिरुवा हटाइपाउँ, घरजग्गाको साँध सिमाना, कुटपिट, लुटपिट, गालाी बेइज्जती, घरभाडा र महिला तथा बालबालिकासम्बन्धि उजुरी न्यायिक समितिका परेका छन् ।
रुखबिरुवा हटाइपाउँ भन्नेमा छ उजुरी दर्ता भएकोमा पाँच फछ्र्यौट भएका छन् । घरजग्गाको साँध सिमाना सम्बन्धी दुई उजुरी दर्ता भएकोमा दुई, कुटपिट, लुटपिट, गाली बेइज्यतीमा दुई उजुरी दर्ता भएकोमा दुई, महिला बालबालिका सम्बन्धि दर्ता भएका तीन उजुरीमध्ये दुई र घरभाडा सम्बन्धि प्राप्त दुई उजुरीमा एक फछ्र्यौट भएको छ ।
अन्य पाँच निवेदन प्राप्त भएकोमा चार वटा फछ्र्यौट भएको संयोजक खड्काले जानकारी दिए । यो अवधिमा ३२ वटा मेलमिलाप हुन सक्ने विवादमा सहजिकरण गरिएको छ । बागलुङ नगरपालिकाको न्यायिक समितिमा हाल तीस महिला र एकचालिस पुरुष गरी ७१ जना सूचिकृत मेलमिलापकर्ताहरु रहेका छन् ।
नेपालको संविधान २०७२ को धारा २१७ मा भएको व्यवस्था र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ का विवादहरु न्यायिक समितिले हेर्न पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार प्राप्त निवेदनमा सम्भव भएसम्म मेलमिलापका माध्यमबाट विवादको समाधान गर्ने कोशिस गरिन्छ ।





