आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘पृथ्वी जोगाउन वन जोगाउनु पर्छ’

‘पृथ्वी जोगाउन वन जोगाउनु पर्छ’


  • अमृत बास्कुने
  • बैशाख ११ २०८३, शुक्रबार

म्याग्दी/हामी बसिरहेको पृथ्वी जोगाउनका लागि हामीले हाम्रै वरीपरी रहेको वनलाई जोगाउनु पर्ने बेनीमा आयोजित एक कार्यक्रममा बक्ताले धारणा राखेका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीले आयोजना गरेको मौसम तथा जलवायु सुचना सेवा प्रणालि सम्बन्धी अभिमुखीकरणमा बोल्दै डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख बसन्तकेशव अधिकारीले उक्तकुरा बताएका हुन् ।

जलवायु परिवर्तनले गर्दा वनजंगललाई नै क्षती पुगेको बताउँदै उनले यदी हामी बस्ने पृथ्वी जोगाउनु छ भने पहिलो मूल्य भनेको वन जोगाउनु हो । वन डढेलोको ९५ प्रतिशत घटनाहरु मानविय कारणले हुने भएकोले यसलाई कसरी कम गर्न सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्ने उनको तर्क थियो ।

डिभिजन वन कार्यालयका प्रमुख अधिकारीले भने, ‘वनले कार्वन सोस्ने र अक्सिजन दिने भएकोले हामीहरुका लागि सबैभन्दा नजिकको जीवनदाता भनेकै वन हो ।’ विगतको वर्षहरुमा जस्तो यो वर्ष वनमा डढेलो कम लाग्न सक्ने बताउँदै उनले भने, ‘अहिले नियमित रुपमा पानी परेकोले वनजंगल हरियो भैसकेको छ त्यसैले डढेलो नलाग्ला ।’

‘मानिसले उत्पादन बढाउनका लागि वनजंगलका पातपतिङ्गरबाट मल बनाउने हो भने पनि डढेलो नियन्त्रण त्यसै हुन्छ’ अधिकारीले भने । वनमारा सबै भन्दा राम्रो मलको श्रोत हो त्यसको प्रयोग गरेमा खेतबारीका लागि आवश्यक पर्ने मल पनि हुने र जंगलको अनावश्यक झाडी पनि सफा हुन्छ । खेतबारीमा मलको प्रयोग गर्दा पनि जुनदिन खनजोत गर्ने हो त्यही दिनमा मात्रै मल हाल्नु पर्ने, पहिल्यै हाल्दा मलले उत्पादनका लागि दिने आवश्यक तत्वहरु खेर जाने समस्या हुने उनले सुनाए ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीका अध्यक्ष सुन्तली जिसीले नेपालमा मौसमको ढाँचा पहिले भन्दा बढी अनिश्चित बन्दै गएको बताइन् । उनले भनिन्, ‘अत्याधिक वर्ष, खडेरी, हावाहुरी, असिना। चट्याङ, बाढी डुबान, पहिरो, डढेलोजस्ता घटनाहरुले मानिसलाइ आक्रान्त बनाउन थालेको छ । कतै शितलहर त कतै तातो हावाले जोखिम बढाउँदा कृषि, स्वास्थ्य, घर जीविका र दैनिकीमा समेत प्रत्यक्ष असर पारेकोले त्यसतर्फ सचेत हुनुपर्छ ।’

म्याग्दीको बेनीमा आयोजित अभिमुखिकरणमा मालिका गाउँपालिका, मंगला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकाबाट सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरु सहभागी थिए । सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष सुन्तली जिसीको अध्यक्षता, उपाध्यक्ष तेजकुमारी पुनको स्वागत र सचिव मुक्ती खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका सभापति अमर बानियाँले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->