म्याग्दी/ पृथ्वी जोगाउनका लागि हामीले हाम्रै वरीपरी रहेको वनलाई जोगाउनु पर्ने बेनीमा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीले आयोजना गरेको मौसम तथा जलवायु सुचना सेवा प्रणालि सम्बन्धी अभिमुखीकरणमा बोल्दै डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख बसन्तकेशव अधिकारीले बताए । जलवायु परिवर्तनले गर्दा वनजंगललाई नै क्षती पुगेको बताउँदै उनले यदी हामी बस्ने पृथ्वी जोगाउनु छ भने पहिलो मूल्य भनेको वन जोगाउनु पर्नेमा जाेड दिए ।
वन डडेलोको ९५ प्रतिशत घटनाहरु मानविय कारणले हुने भएकोले यसलाई कसरी कम गर्न सकिन्छ त्यस तर्फ ध्यान दिनु पर्ने उनको तर्क थियो । अधिकारीका अनुसार वनले कार्वन सोस्ने र अक्सिजन दिने भएकोले हामीहरुका लागि सबै भन्दा नजिकको जीवनदाता भनेकै वन हो । विगतको वर्षहरुमा जस्तो यो वर्ष वनमा डडेलो कम लाग्न सक्ने बताउँदै उनले अहिले नियमित रुपमा पानी परेकोले वनजंगल हरियो भैसकेको र अव डडेलो नलाग्ला भन्ने विश्वास गरे । मानिसले उत्पादन बढाउनका लागि वनजंगलका पातपतिङ्गरबाट मल बनाउने हो भने पनि डडेलो नियन्त्रण हुने उनको भनाई थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीका अध्यक्ष सुन्तली जिसीले नेपालमा मौसमको ढाँचा पहिले भन्दा बढी अनिश्चित बन्दै गएको बताइन् । उनले भनिन्, ‘अत्याधिक वर्ष, खडेरी, हावाहुरी, असिना, चट्याङ, बाढी, डुबान, पहिरो, डढेलो जस्ता घटनाहरुले मानिसलाइ आक्रान्त बनाउन थालेको छ ।’ कतै शितलहर त कतै तातो हावाले जोखिम बढाउँदा कृषि, स्वास्थ्य, घर जीविका र दैनिकीमा समेत प्रत्यक्ष असर पारेकोले त्यस तर्फ सचेत हुनु पर्ने उनको तर्क थियो ।
कार्यक्रममा मालिका, मंगला, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकाबाट सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरु सहभागी थिए । सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष सुन्तली जिसीको अध्यक्षता, उपाध्यक्ष तेजकुमारी पुनको स्वागत र सचिव मुक्ती खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका सभापति अमर बानियाँले मन्तव्य राखेका थिए ।





