शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सैन्य आधारभूत तालिमबाट ९७ जना सैन्य दीक्षित

सैन्य आधारभूत तालिमबाट ९७ जना सैन्य दीक्षित


  • ढोरपाटन संवाददाता
  • बैशाख १२ २०८३, शनिबार

बागलुङ/जिल्लास्थित नेपाली सेनाको कालीजंग गण घोडाबाँधेमा सञ्चालित सिसं ९ सैन्य आधारभूत तालिमबाट ९७ जना सैन्य दीक्षित भएका छन् ।

शुक्रबार घोडाबाँधे व्यारेकमा सैन्य आधारभूत तालिमको ‘अन्तिम दलेल कवाज’ समापन भएको हो । तालिम समापनका अवसरमा सैन्य जवानहरूले अन्तिम दलेल कवाजको प्रदर्शनीसँगै ९७ जना सैन्यहरू दीक्षित भएको कालीजंग गणका गणपति प्रमुख सेनानी शिव बहादुर अधिकारीले जानकारी दिए ।

कार्यक्रममा नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी भोलानाथ थापाले ९ महिने सैन्य आधार तालिममा सहभागी नवप्रवेशी सैनिकहरूद्वारा प्रस्तुत ‘अन्तिम दलेल कवाज’ प्रदर्शनको निरीक्षण गर्नुका साथै तालिमका उत्कृष्ट सैनिक जवानलाई पुरस्कृत गरेका थिए ।

सो अवसरमा बोल्दै उपरथी थापाले राष्ट्रको मेरुदण्ड सेना भएकाले सेना बलियो भएमात्र देश बलियो हुने बताए । दक्ष, तालिम प्राप्त, अनुशासित र कर्तव्यनिष्ठ सैनिक सेनाको मेरुदण्ड भएको थापाको भनाई थियो ।

उपरथी थापाले तालिम प्राप्त गरी सेना प्रवेश गरेका सैन्य जवानहरूलाई सेनाको उच्च छविलाई कायम राख्दै राष्ट्र, राष्ट्रियता, नेपाली जनता र नेपाली सेनाप्रति समर्पित भएर काम गर्न निर्देशन समेत दिएका छन् । ‘‘राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणका लागि सैन्य जवानहरु कटिबद्ध भएर अघि बढ्नुपर्छ’’ उपरथी थापाले भने ।

सैन्य आधार तालिममा सहभागी सैनिक जवानमध्ये विभिन्न विद्यामा उत्कृष्ट भएका नवप्रवेशी सैनिक जवानलाई उपरथी थापाले पुरस्कार वितरण गरेका थिए । तालिममा सर्वोकृष्ट हुने सैन्य सुदेश मगरलाई ‘श्रेष्ठताको प्रतीक’ स्वरूप खुकुरीद्वारा प्रदान गरिएको थियो । तालिमको फायरिङ विधामा उत्कृष्ट राजन विष्ट, ड्रिल विधामा उत्कृष्ट सुनिल लिम्बु, १२ किलोमिटर दौडमा उत्कृष्ट पवन लंवा, ५ किलोमिटर दौडमा उत्कृष्ट दिपेन रसाइली, बाधापार विधामा उत्कृष्ट प्रदर्शन गर्ने सरोज राईलाई उपरथी थापाले पुरस्कार वितरण गरेका थिए ।

तालिम समापन समारोहमा श्री नं.२३ बाहिनी अड्डा बागलुङका सहायक रथी विजय केसी, जिल्लास्थित जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नवनियुक्त सिपाहीका परिवारजन र पत्रकारहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->