बागलुङ / गलकोट नगरपालिकाभित्रका सवै निर्माण कार्य एक हप्तासम्म बन्द गरिने भएको छ । आईतवार गलकोट नगर क्षेत्रका निर्माण व्यवसायी र हार्डवयर व्यवसायीहरुको भेलाले एक हप्ताका लागि गलकोट नगर क्षेत्र भित्रका सवै निर्माण कार्य बन्द गर्ने निर्णय गरेको हो ।
गलकोटमा निर्माण कार्य भइरहेका विषयमा सामाजिक सञ्जालमार्फत भ्रामक समाचारहरु आइरहेकोले त्यसको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालयलाई अनुरोध गर्ने र एक हप्तासम्मका लागि निर्माण कार्य रोक्ने निर्णय भएको गलकोट निर्माण व्यवसायी संघका संयोजक योगेश भण्डारीले बताए ।
निर्माणका कार्यहरुको बारेमा विभिन्न सामाजिक सञ्जाल मार्फत फैलाईएको भ्रामक समाचार र निर्माण व्यवसायी एवं उपभोक्ता समिति माथि फेसबुक पेजहरुबाट अख्तियार दुरुपयोग अनुसन्धान केन्द्र, राष्ट्रिय सतर्कता केन्द्र, इलाका प्रहरी कार्यालय गलकोट, गलकोट नगरपालिकाको कार्यालय साथै बागलुङका सरोकारवाला कार्यालयहरुलाई ट्याग गरी पोष्ट आउने गरेकोले त्यसको टुंगो नलागेसम्म निर्माण कार्य अगाडि असहज भएको भण्डारीले बताए ।
पछिल्लो पटक विभिन्न कार्यालय, उपभोक्ता समिति तथा व्यवसायीहरु माथि मुद्धा दर्ता भएको भन्ने अपुष्ट समाचारको कारण गलकोट भित्र निर्माणाधिन विकास निर्माणका कार्यमा संलग्न व्यक्तिहरु त्रसित भएकाले निर्माणको काम अगाडि बढाउन नसक्ने संयुक्त भेलाको निर्णय भएको भण्डारीले बताए ।
ती भ्रामक पोष्ट र समाचारको विषयमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनको लागि इलाका प्रहरी कार्यालय गलकोट र गलकोट नगरपालिकाको कार्यालयलाई आग्रह गर्ने र दोषी माथि कडा कार्वाही गर्नको लागि एक हप्ताको समय सिमा तोकिएको र सो समय अवधिमा गलकोट नगरपालिकाभित्र निर्माण कार्यहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको हो ।
साथै, हार्डवयर व्यसायीहरुले उक्त निर्णयलाई समर्थन गर्दै सात दिनसम्म व्यक्तिगत तथा संघसंस्थाहरुमा निर्माण सामाग्रीहरु विक्रिवितरण नगर्ने निर्णय गरेका छन् ।
भेला गलकोट निर्माण व्यवसायी संघ गलकोटका संयोजक योगेश भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । बजारमा भएको महङ्गी र निर्माण सामाग्रीको अभावमा निर्माण व्यवसायीहरुले देशभर नै निर्माण होलि डेको विषय उठाउँदै आइरहेका छन् ।





