बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
बागलुङ नगरपालिका वडा नं. ८ सिगाना बिमिरबोटस्थित भित्री सडक खण्डमा नियमित चेकजाँचको क्रममा प्रहरीले लागूऔषधसहित बागलुङ नगरपालिका वडा नं. ९ तित्याङका २५ वर्षिय रञ्जन घर्ती क्षेत्रीलाई पक्राउ गरेको हो ।
क्षेत्रीबाट २५ एमजिको फेनेर्गन इन्जेक्सन ४४ एम्पुल, बुप्रेनोरफिन इन्जेक्सन ४१ एम्पुल र डाइजापाप इन्जेक्सन आइपि ४५ एम्पुल गरी जम्मा १ सय ३० एम्पुल लागूऔषध र माबोइल सेट बरामद गरिएको प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी याम नारायण अर्यालले जानकारी दिए ।
शंकास्पद अवस्थामा हिंडिरहनुभएका क्षेत्रीलाई चेकजाँच गर्दा लागूऔषध बरामद गरिएको अर्यालले बताए । लागूऔषधसहित पक्राउ पर्नुभएका क्षेत्रीलाई अनुसन्धानका लागि जिल्ला अदालत बागलुङबाट ७ दिनको म्याद थप गरिएको अर्यालले जानकारी दिए ।





