बागलुङ/पर्वतको जलजला–६ र मोदी गाउँपालिका वडा नं. ४ स्थित कालञ्जर क्षेत्र (हम्पाल)मा कालञ्जर महायज्ञ शुरु भएको छ ।
धार्मिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको अगुवाईमा महायज्ञ शुरु गरिएको हो । मंगलबारदेखी शुरु भएको महायज्ञ ३० गतेसम्म चल्ने छ । महायज्ञको प्रमुख वाचकको रुपमा स्वामी कमलनयनाचार्यका अनुयायी पण्डित सुर्दशन प्रपन्नाचार्य रहको छन् ।
कालाञ्जर क्षेत्र धार्मिक धरोहर तथा पवित्र पितृतिर्थ पनि भएकाले यसलाई साधना भूमिका रुपमा विकास गर्ने, प्रचार प्रसार गर्ने, सामाजिक र आध्यात्मिक चेतना जगाउने र पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले १ सय ८ श्रीमद भागवत कालाञ्जर महायज्ञ शुरु गरिएको महायज्ञका मुल वाचक पण्डित सुर्दशन प्रपन्नाचार्यले जानकारी दिए ।
महायज्ञमा कथा वाचन, १ सय ८ श्रीमद्भागवत पाठपारायण, विभिन्न धार्मिक अनुष्ठान, भजनकिर्तन, यज्ञ हवन, गुरुजन, सन्त, अतिथीको सेवा र सम्मान, रुद्रभिषेक, पुजाअर्चना कार्यक्रम रहेको महायज्ञ आयोजक समिति सदस्य जगन्नाथ आचार्यले बताए ।
स्वामी कमलनयनाचार्यको सक्रियतामा समुद्री सतहदेखि ३३ सय मिटरको उचाइमा रहेको कालञ्जरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन विभिन्न योजना सञ्चालनमा छन् । पञ्चकोटका परिकल्पनाकार समेत रहनुभएका कमलनयनाचार्य अगुवाईमा कालञ्चरमा चार वर्षअघिदेखि महायज्ञ हुँदै आएको छ ।





