पछिल्लो समय गण्डकी प्रदेशमा लागुऔषधको दुरपयोग बढ्दै गइरहेको छ । प्रदेशका विभिन्न जिल्लाहरुमा यसको अवैध बिक्री वितरण र दुरुपयोगको घटना निरन्तर बढीरहेका छन् । एकीकृत सेवा कार्यालय बागलुङले सञ्चालन गरेको सार्वजनिक जनचेतना अभियानमा सरोकारवालाले यस विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै सजग र सचेत रहनुपर्ने बताए । उनीहरुले लागुऔषधको बढ्दो प्रयोग समुदायको सुरक्षा र भविष्यसंग जोडिएको विषय भएकोले सवै गम्भीर बन्नुपर्ने धारणा राखे । यो विषय अब व्यक्तिगत समस्या मात्र रहेन, समुदायकै सुरक्षा र भविष्यसँग जोडिएको मुद्दा बनेको छ । यसको न्यूनीकरण गर्न समाजका हरेक ब्यक्ति जिम्मेवार बन्नु पर्दछ ।
कानुनी दृष्टिकोणः स्पष्ट र कडा
नेपालको कानुन अनुसार, लागुऔषधको उत्पादन, खरिद, बिक्री तथा सेवन गर्नु गम्भीर अपराध हो। प्रदेश सरकारको एकीकृत सेवा कार्यालय बागलुङले जारी गरेको सूचनामा यो कुरा स्पष्ट पारिएको छ। ‘लागुऔषध आदान प्रदान गर्न निषेध गरिएको सवारी साधन’ भन्ने नाराले कानुनी कडाइको संकेत दिन्छ। कतिपयले सोच्छन्, ‘एक पटक मात्र गरे हुन्छ’ वा ‘म आफ्नो नियन्त्रणमा छु’ तर मैले अस्पतालमा देखेको छु- त्यो ‘एक पटक’ नै जीवनभरको पछुतो बन्छ।
चिकित्सकीय असरः शरीर र मन दुवैमा
लागुऔषधको दुरुपयोगले मानिसको शारीरिक र मानसिक दुवै पक्षमा गम्भीर असर पार्छ। मस्तिष्कको संरचनामा परिवर्तन, हृदयरोग, घिउपिण्डको क्षति र मानसिक रोगहरू जस्ता समस्या देखिन्छन्। सबैभन्दा डरलाग्दो कुरा- युवाहरूमा यसको प्रभाव पुस्तौंसम्म रहन सक्छ ।
अभिभावक र विद्यालयको भूमिका
स्थानीय अभिभावकहरू र शैक्षिक संस्थाहरू पनि यस विषयमा सचेत हुनु पर्दछ। बालबालिकाहरु घरमा कुरा गर्ने वातावरण नपाउँदा बाहिरको गलत संगतमा लाग्छन्। विद्यालयमा जीवन कौशल शिक्षा अनिवार्य हुनुपर्छ ।
समुदायको सहभागिता आवश्यक
एकीकृत सेवा कार्यालय बागलुङले “Say No to Drug, Choose a Better Life” अभियान अन्तर्गत सचेतना सामग्री वितरण गर्दै आएको छ। यसैबीच, स्थानीय प्रशासनले अवैध लागुऔषधको बिक्री वितरण नियन्त्रण गर्न विशेष अपरेशन योजना तयार गरेको बताइएको छ।
सहायता कहाँ पाउने ?
नशाको लतबाट मुक्त हुन चाहनेहरूले नजिकको स्वास्थ्य संस्था वा एकीकृत सेवा कार्यालय बागलुङमा सम्पर्क गर्न सक्छन्। नशामुक्ति सम्भव छ- यो लज्जाको विषय होइन, उपचार गर्नुपर्ने रोग हो । यदि तपाईं वा तपाईंको परिवारका कसैलाई लागुऔषधको समस्या छ भने, कृपया नजिकको स्वास्थ्य चौकी वा प्रहरी कार्यालयमा सम्पर्क गर्नुहोस्।
(डा.केसी धौलागीरी प्रादेशिक अस्पतालको मेडिकल अधिकृत हुन्। उनी सार्वजनिक स्वास्थ्य र समुदाय जागरणका विषयमा कलम चलाउछन् ।)





