म्याग्दी/ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सदरमुकाम बेनीस्थित बालगृहमा रहेका अनाथहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै खाद्यान्न सामग्री वितरण गरिएको छ ।
नेपाल बाल संगठनले सञ्चालन गरेको बालगृहमा रहेका अनाथ बालबालिकाको स्वास्थ्य परीक्षणका लागि नेपाल पत्रकार महासंघको आयोजना तथा नेपाल नेत्रज्योती संघ, कोर स्माइल डेन्टल क्लिनिक र बेनी सञ्जिवनी क्लिनिकको प्राविधिक सहयोग रहेको थियो ।
असाहय तथा अनाथ बालबालिकाले आश्रय लिइरहेको बालगृहमा रहेका बालबालिकाको आँखा, नाक, कान, घाँटी तथा दाँतको परीक्षण गरिएको नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले बताए । बालगृहमा रहेका बालबालिकालाई कुन प्रकारको समस्या हुन सक्छ भन्ने सहजीकरण गरेर सोही अनुसारको परीक्षण गरिएको उनको भनाई छ ।
पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्काले बोलेकै कारणले झन जोखिम बढ्ने काम भएको बताए । उनले नेपाली जनताले मतदान मार्फत प्रेस स्वतन्त्रता हनन गराउने काम भएको बताउँदै सेनाको हतियारका अगाडी मतदान गरेर ल्याएको जनमतले मिडियालाई कुण्ठीत गर्ने काम गरेको आरोप लगाए । उनले धेरै पत्रकारहरुले ज्यान गुमाएको हुँदा यो वर्ष सञ्चार क्षेत्रका लागि दुःखद भएको बताए । उनले भने, ‘फेक समाचार हुँदैन र समाचार भए फेक हुँदैन त्यसैले कहिल्यै फेक लेखिदैन र फेक हुन दिइने छैन ।’
कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, जिल्ला शाखाका उपाध्यक्ष अमित बिश्वकर्मा, सहसचिव सन्दीप शर्मा लगायतले बोलेका थिए । पत्रकार महासंघ म्याग्दी शाखाले बालगृहमा रहेका बालबालिकाहरुका लागि खाद्यान्न सामग्री समेत प्रदान गरेको थियो ।





