बागलुङ/ गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा बागलुङ नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि स्थानीय आर्थिक विकास सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ ।
वैशाख १६ गतेदेखि १८ गतेसम्म सञ्चालित तालिमको मुख्य सहजकर्ताका रुपमा प्रकाशराज पौडेल रहेका थिए । पहिलो दिनको उद्घाटन सत्र प्रतिष्ठानका शाखा अधिकृत प्रशान्त पौड्यालले सञ्चालन गरेका थिए भने बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले प्रमुख अतिथिको रूपमा तालिमको उद्घाटन गरेका थिए ।
तालिममा सहभागीहरूले स्थानीय आर्थिक विकासका प्राविधिक पक्षहरूमा केन्द्रीकृत भई विभिन्न अभ्यासहरू सम्पन्न गरेका थिए। जसमा नगरपालिकाको वर्तमान अवस्थाको विश्लेषण (राजनीतिक, आर्थिक, सामाजिक, प्राविधिक, वातावरणीय र कानुनी पक्षको अध्ययन), उद्यमशीलताका गुणहरू र व्यावसायिक योजना निर्माणका चरणहरूमा विशेष छलफल गरिएको थियो । साथै कृषि, पर्यटन र व्यापारिक क्षेत्रको विकासका लागि सहभागीहरूले सामूहिक कार्य र प्रस्तुतीकरणहरू गरेका थिए ।
कार्यक्रमको अन्तिम दिन आयोजित समापन सत्रमा सहभागीको तर्फबाट बागलुङ नगरपालिका वडा नं. १३ का अध्यक्ष नारायण प्रसाद शर्मा पौडेल र नगरपालिकामा कार्यरत आलेप अधिकृत गीता सापकोटाले आफ्ना अनुभवहरू बताएका थिए । उनीहरुले तीन दिने सिकाइले नगरपालिकाको नीति तथा कार्यक्रम बनाउन र स्थानीय स्रोतको उचित पहिचान गरी रोजगारी सिर्जना गर्न नयाँ दृष्टिकोण प्रदान गरेको बताए । समापन समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले अबको डिजिटल युगमा योजना तर्जुमा गर्दा सूचना तथा सञ्चार प्रविधिलाई अनिवार्य रूपमा समावेश गर्नुपर्ने र समयको पावन्दीलाई ख्याल गर्दै योजनाहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले बागलुङ नगरपालिकाको विकासका लागि आगामी दिनहरूमा पनि प्रतिष्ठानले थप प्रभावकारी र प्राविधिक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।





