पर्वत/पर्वत उद्योग वाणिज्य सङ्घको ४३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
गत शनिवार सङ्घको सभा हलमा आयोजना भएको साधारण सभामा एक वर्षको अवधिमा सङ्घले गरेका कार्यक्रमहरू पारित भएका छन् । यस वर्ष सङ्घ स्थापना भएको ५० औँ वर्ष पूरा भएकाले पनि साधारण सभालाई विगतका वर्षहरूको तुलनामा फरक र इतिहास झल्किने खालको बनाउने प्रयास सङ्घले गरेको थियो ।
सोही अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घ, जिल्ला नगर उपाध्यक्ष दिल सुन्दर श्रेष्ठले वर्तमान सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी काम गर्ने वातावरण बनाउनुपर्ने सुझाव राखे । देशमा विभिन्न समयमा आयोजना भइरहने आन्दोलनमा निजी क्षेत्रबाट सञ्चालनमा रहेका उद्योग, पसल तथा व्यवसायहरूमा ठुलो क्षति हुने गरेको भन्दै उनले यसले लगानीको वातावरणलाई निरुत्साहित गर्ने बताए ।
वर्तमानन सरकारले सामग्रीहरूमा लगाउने कर सङ्कलनका विषयमा गरिरहेको काम प्रशंसनीय रहेको भन्दै श्रेष्ठले नेपाल र भारतको सिमानामा रहेका नेपालका पसलहरूमा बल्ल व्यापार सुरु भएको उल्लेख गरे । कर प्रणालीमा कडाइ नगर्दा तथा खुल्ला सिमानाबाट उपभोग्य सामग्रीहरू ओसारपसार गर्न पाउँदा नेपालको रकम सिधै भारतीय बजारमा जाने गरेको भए पनि अहिले भने सामानबाट आउने मुनाफा नेपाली व्यवसायीहरूले लिन पाइरहेको उनको भनाई छ । सरकारले निजी क्षेत्रका लागि उपयुक्त वातावरण बनाएको अवस्थामा आफूहरू पनि सरकारले चाहेको जस्तो वातावरण बनाउन लागि तयार रहेको उपाध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका संयोजक विष्णुराम बि.क.ले बजारमा देखिइरहेको समस्याको समाधानको लागि अब छिमेकी जिल्लाका उद्योग वाणिज्य सङ्घहरूले समेत संयुक्त निष्कर्ष निकाल्नुपर्ने सुझाव राखे । अहिले बस्तुको किनबेच फरक र आधुनिक शैलीमा भइरहँदा परम्परागत शैलीमा व्यापार गर्नेहरूको दैनिकी सुनसान बनेकोले छिमेकी जिल्लाका सङ्घहरू मिलेर अबको उपायका बारेमा समाधानहरू ल्याउनुपर्ने उनको सुझाव थियो ।
यस्तै फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले निजी क्षेत्रले गरिरहेको योगदानमा आफ्नो आवश्यक सहयोग रहने बताउँदै अब पालिका स्तरमा पनि लगानीमैत्री वातावरण बनाउन आफूले सहकार्य गर्ने बताए । स्थानीय तहमा रहने विभिन्न समितिहरूमा पनि सङ्घका प्रतिनिधिहरूलाई सहभागी गराएर निजी क्षेत्रसँगको सहकार्यलाई अझै सुदृढ बनाउने उनको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी पर्वतका सहसचिव महोदत्त अधिकारी, नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडी, पर्वत उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षहरूको तर्फबाट होमनारायण श्रेष्ठ, लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुली, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयकी कुश्माकी सञ्चालन राधिका दिदी लगायतले पनि बोलेका थिए ।
कार्यक्रमकै अवसरमा सङ्घको ५० वर्षको इतिहासलाई समेटेर तयार पारिएको वृत्तचित्र पनि प्रदर्शन गरिएको छ । करिब आधा घण्टा लामो वृत्तचित्रमा सङ्घको स्थापना भएको २०३२ सालदेखि हालसम्मका अध्यक्ष तथा कार्यसमितिहरूको पालामा भएका महत्त्वपूर्ण काम तथा निर्णयहरू समावेश गरिएको छ ।
निजी क्षेत्रको संस्था भएर पनि सरकारी तथा गैह्र सरकारी सङ्घ संस्थाहरूसँगको सहकार्यमा सङ्घले गरेका आर्थिक तथा भौतिक प्रगति र योगदानका विषयहरू पनि वृत्तचित्रमा राखिएको छ ।
सोही अवसरमा सङ्घको आयोजनामा भएको आठौँ पर्वत महोत्सवमा विभिन्न तरिकाले योगदान गर्नुभएका व्यक्ति तथा संस्थाहरूलाई प्रशंसापत्रद्धारा सम्मान पनि गरिएको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुर बी पौडेलले सङ्घको यहाँसम्मको यात्रामा आई पुग्नका लागि सहकार्य गर्नुभएका सबै पक्षहरूप्रति आभार व्यक्त गरे । सानो जिल्लाको सङ्घ भएर पनि पटक पटक केन्द्रीय रूपमा उत्कृष्टताको सम्मान पाउनु आफूहरूको अथक मिहिनेत रहेको भन्दै उनले सङ्घमा आबद्ध भएका वा नभएका सबै जनताका लागि सकेसम्म सहकार्य र सहयोग गर्ने गरेका कारण नै सङ्घले सबैको विश्वास जितको बताए ।
उक्त कार्यक्रमको सञ्चालन सङ्घका महासचिव खड्ग प्रसाद खनालले गरेका थिए ।





