बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ढोरपाटनकर्मी शर्मालाई गजेन्द्र स्मृति पत्रकारिता पुरस्कार

ढोरपाटनकर्मी शर्मालाई गजेन्द्र स्मृति पत्रकारिता पुरस्कार

रु.२५ हजार राशीको उक्त पुरस्कार शर्मालाई जेठ ९ गते नेपाल पत्रकार महासंघ कास्की शाखाको साधारण सभामा वितरण गरिने छ ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०८३, शुक्रबार

पोखरा / ढोरपाटन दैनिकका सहसम्पादक लालप्रसाद शर्मालाई गजेन्द्र भण्डारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित ‘गजेन्द्र भण्डारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ ढोरपाटनकर्मी शर्मालाई प्रदान गर्न लागिएको हो । यस बर्षको उक्त पुरस्कारबाट पत्रकार शर्मा सम्मान गर्न लागिएको महासंघ कास्कीका अध्यक्ष माधव बरालले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष नारायण कार्कीको संयोजकत्वमा गठित छनौट समितिले गरेको सिफारिस अनुसार शर्मालाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

कार्कीको संयोजकत्व गठित छनौट समितिका सदस्यहरु भरत कोइराला, रुपनारायण ढकाल, माधव बराल र भूपाल गुरुङ रहेको समितिको सिफारिसलाई महासंघको शुक्रबार बसेको बैठकले अनुमोदन गरेको अध्यक्ष बरालले बताए ।

शर्मालाई जेठ ९ गते नेपाल पत्रकार महासंघ, कास्कीको साधारण सभाको अवसरमा नगद रु.२५ हजारसहित सम्मान पत्रबाट सम्मान गरिने छ ।

पर्वतको कुस्मा नगरपालिका–१३, खौलालाँकुरी पर्वतमा वि.सं. २०३२ सालमा जन्मिएका शर्माले २०५४ देखि पत्रकारिता सुरु गरेका हुन् ।

नारी सन्देश पत्रिकामा लेखरचना प्रकाशित गरी पत्रकारितामा आरम्भ गरेका शर्माले आदर्श समाज, नेपाल समाचारपत्र, पोखरा हटलाइन पत्रिकामा काम गरिसकेका छन् । उनले पर्वतबाट प्रकाशित हुने ’निष्पक्ष अभिमत’ पत्रिकामा सहसम्पादक भएर काम गरेका थिए ।

शर्माले २०५७ जेठदेखि २०८० माघसम्म कान्तिपुर पत्रिकामा काम गरे । त्यहाँ उनले २०७६ देखि २०८० सम्म गण्डकी प्रदेश ब्यूरो संयोजकको महत्वपूर्ण जिम्मेवारी समेत सम्हालेका थिए । उनी हाल ढोरपाटन दैनिकको पोखरा ब्यूरोमा सहसम्पादकको रुपमा कार्यरत छन् ।

शर्मा संसदीय पत्रकार मञ्च गण्डकीको संस्थापक अध्यक्ष हुन् । व्यावसायिक पत्रकारिताका अलावा उनी आफ्नो जन्मथलो पर्वत र हालको कर्मथलो पोखराका विभिन्न सामाजिक संघसंस्थाहरूमा पनि उत्तिकै सक्रिय छन् ।

यस अघि उनले प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार, क्याप्टेन रुद्रमान गुरुङ स्मृति ग्रामीण पर्यटन पत्रकारिता पुरस्कार, खानेपानी तथा सरसफाई पुरस्कार, पोखरा उद्योग वाणिज्य संघको आर्थिक पत्रकारिता पुरस्कार, बाबा आनन्द सञ्चार पुरस्कार, सदाचार पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन् ।

उनले लायन्स स्वास्थ्य दर्पण हेल्थ अवार्ड, एसओएस चिल्ड्रेन्स भिलेज इन्टरनेशनलले आफ्नो ७० औं वार्षिकोत्समा सम्मानसहित विभिन्न संघसंस्थाहरूबाट समेत पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->