पोखरा/कुनै जमाना थियो, स्कूल तह पढाउन पनि धेरै कस्केली अभिभावकले छोराछोरीलाइ काठमाडौं पठाउँथे । हुनेखानेले भारतको देहरादुन-दार्जिलिङसम्म पु¥याउँथे । माओवादी सशस्त्र द्वन्द्वका बेला यस्तो प्रवृत्ति झनै बढेको थियो ।
तर, समयले कोल्टे फेरिसकेको छ । माध्यमिक तहको पढाइका लागि छोराछोरीलाई कहाँ लैजाने भन्ने चिन्ताबाट अभिभावक मुक्त भएका छन् । संस्थागतको कुरै छाडौँ, कास्कीका सामुदायिक विद्यालय पनि अहिले विद्यार्थी र अभिभावकको रोजाइमा पर्ने गरेका छन् ।
अघिल्लो साताको सोमबार प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतीजा हेरौँ ! पोखराको छोरेपाटनस्थित छोरेपाटन माविबाट सबैभन्दा बढी ३ जनाले ४ जीपीए ल्याए । यसैगरी जनप्रकाश मावि भण्डारढिकबाट २ जना, गोगन मावि गगनगौंडाबाट २ जना, बाराही मावि पोखरा, त्रिभूवन शान्ति मावि खुदी र माछापुच्छ्रे मावि भुर्जुङखोलाबाट १/१ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भए ।
पर्यटकीय सहर पोखराभित्र मात्र नभइ कास्कीका ग्रामीण क्षेत्रमा पनि एकसे एक सामुदायिक विद्यालय छन् । ‘भौतिक र शैक्षिक पूर्वाधार तथा सुविधायुक्त शैक्षिक संस्था र गुणस्तरीय शिक्षाको कास्कीमा कमी छैन,’ शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य भन्छन, ‘राम्रा स्कूल र गुणस्तरीय शिक्षा खोज्दै बाहिर जानुपर्ने कल्पना पनि गर्न सकिँदैन । विद्यार्थी र अभिभावकको चाहनालाई पूरा गर्ने गरी कास्कीमा अब्बल दर्जाका स्कूल संचालनमा छन् । संस्थागततर्फ झनै राम्रो गर्ने स्कूल छ । पेशाप्रति प्रतिवद्ध शिक्षक, सचेत अभिभावक र विद्यालयको व्यवस्थापनमा सरोकारवालाले चासो दिनसके शैक्षिक गुणस्तर हुने सामुदायिक विद्यालयले पुष्टि गरेका छन् ।

oplus_2
कास्कीमा सामुदायिकतर्फ छोरेपाटन, बालमन्दिर, अमरसिंह, कालिका मावि काहुँ, शितलादेवी सामुदायिक, भद्रकाली, विन्ध्यावासिनी, राष्ट्रिय, पृथ्वीनारायण मावि धम्पुस, निष्पक्ष मावि रिभान, बराह मावि, माछापुच्छ«े मावि भुर्जुङखोला, त्रिभुवन शान्ति, गोगन मावि एसइई परीक्षाको नतीजामा अगाडि छन् । यसैगरी जनप्रिय मावि, कालिका मावि रामबजार, जनप्रकाश, सरस्वती टीका लगायतको नतिजा पनि मुख खुम्च्याउने खालको छैन ।
आचार्यका अनुसार जिल्लाका १६ सामुदायिक विद्यालयले यसपटक शतप्रतिशत् विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन् । कास्कीमा एसइईमा सहभागी हुने सामुदायिक विद्यालयको संख्या १२१ रहेको थियो । यसैगरी ९० प्रतिशतभन्दा बढी विद्याथी उत्तीर्ण गराउने विद्यालय ९ र ८० प्रतिशतभन्दा बढी उत्तीर्ण गराउने सामुदायिक विद्यालयको संख्या २० रहेको छ । कास्कीमा यसवर्ष सामुदायिकबाट ४०३४ विद्यार्थी परीक्षामा सहभागी भएकोमा २८५७ अर्थात् ७०.८२ प्रतिशत् विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । ‘गतवर्ष पनि सामुदायिकमा उत्तीर्ण विद्यार्थी प्रतिशत ७१ प्रतिशत रहेको थियो,’ आचार्यले भने, ‘नतीजामा खासै अन्तर नदेखिएकाले कास्कीका सामुदायिकको अवस्था सन्तोषजनक रहेको पुष्टि हुन्छ ।’
सामान्य खर्चमा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा पाउने वातावरण भएकाले छोरालाई सामुदायिकमा पढाएको पर्वतको फलेबास नगरपालिकाकी देवी पंगाली बताउँछिन् । अंग्रेजी माध्ययम, खाजाको व्यवस्था, छात्रावासलगायत शैक्षिक गुणस्तरमा ध्यान दिन थालेको र बालमैत्री वातावरण, सक्षम र व्यावसायिक शिक्षक, शैक्षिक प्रणालीको विकास, भवन, कक्षाकोठा, फर्निचर, शौचालय, खेलमैदान, पुस्तकालय, प्रयोगशाला, विषयगत शिक्षकका कारण शैक्षिक गुणस्तरमा बृद्धि हुदै गएकाले सामुदायिकमा विद्यार्थीको चाप बढ्दो छ । प्रशासनिक व्यवस्थापन चुस्त बनाउनसके सीमित स्रोत, साधनबाटै अभिभावक र विद्यार्थीले चाहेजस्तो पढाइ दिन सकिने विभिन्न विद्यालयका प्रधानाध्यापकहरु बताउँछन् । माछापुच्छ«े गाउँपालिकाको भुर्जुङखोलास्थित माछापुच्छ«े माविका प्रअ सन्तोष आचार्यले २÷४ जना विद्यार्थीको ४ जीपीएमा केन्द्रीत हुनुभन्दा पनि सबै विद्यार्थीको जीपीए प्रतिशत बढाउने अभियानमा रहेको बताए । यसपटक ५६ विद्यार्थी एसइई परीक्षामा सहभागी भएकोमा ५२ जना उत्तीर्ण भए । समग्रमा ३.१ जीपीए रहेको छ । ‘ग्रामीण क्षेत्रको विद्यालय भए पनि गुणस्तरीय शिक्षा दिन सफल भएको सकरात्मक सन्देश प्रवाह भएको छ,’ प्रअ आचार्यले भने, ‘आगामी दिनमा यसलाई निरन्तरता दिँदै थप सुधारमा लागिपरेका छौँ ।’ ढुंगा र बालुवा खानीमा काम गर्ने मजदुरसहित ३२ जिल्लाका विद्यार्थी विद्यालयमा अध्ययनरत छन् ।

यसैगरी छोरेपाटन माविका प्रअ डिल्लीराम शर्मा भुसालले पहिलोपटक सामुदायिक विद्यालयमध्ये सबैभन्दा बढी ३ जना विद्यार्थीले ३ जीपीए ल्याएर कास्कीमा पहिलो भएकोमा खुसी व्यक्त गरे । नतीजा अपेक्षा गरेजस्तो नआएको भन्दै उनले तर पनि १÷२ वर्षको मिहिनेतको परिणाम रहेको बताए । ‘कुनै एक पक्षको मात्र प्रयासले गुणस्तरीय शिक्षा प्रदान गर्न सकिँदैन,’ प्रअ भुसालले भने, ‘विद्यार्थीको पढाईप्रतिको लगाव, समर्पित शिक्षक र अभिभावकको पारिवारिक वातावरण पनि उत्तिकै महत्वपूर्ण पक्ष हुन् ।’ अभिभावकसँग नियमित परामर्श, अतिरिक्त कक्षा सञ्चालन लगायत गुणस्तरीय शिक्षाका लागि विद्यालयले नियमित प्रयास गरिरहेको उनको भनाइ छ ।
सामुदायिक विद्यालयको गुणस्तर अझै बढाउन १–५ कक्षाको शिक्षा सुधार्नुपर्ने बताउँछन् शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख आचार्य । ‘प्राथमिक तहको पढाइ भनेको शिक्षाको मुख्य जग भएकाले यसमा निकै मिहिनेत गर्नुपर्छ,’ उनले भने, ‘सिकाइमैत्री कक्षाकोठा, शिक्षकको मेहनत र अभिभावकको चासो हुनुपर्छ ।’ अब स्थानीय तहले भौतिक पक्षमात्र नभइ शिक्षण सिकाइमा पनि जोड दिनुपर्ने बेला आएको उनले बताए । यसवर्षको परीक्षामा उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँचिएको र एउटा परीक्षकले १०० भन्दा बढी उत्तरपुस्तिका जाँच्न नपाएकाले पनि परिणाम राम्रो आएको हुनसक्ने उनको भनाइ छ । परीक्षकले सतर्कतासाथ उत्तरपुस्तिका जाँचेको उनले बताए ।






