पोखरा/ पोखरा–९ शान्तिवनस्थित पोखरा बहुमुखी क्याम्पसले व्यवस्थापन तथा सामाजिक विज्ञानका समसामयिक विषयमा केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । क्याम्पसले बुधवार पत्रकार सम्मेलन गर्दै यही जेठ १५ र १६ गते व्यवस्थापन तथा सामाजिक विज्ञानमा उदाउँदा प्रबृत्तीहरु सम्बन्धी राष्ट्रिय अनुसन्धान सम्मेलन गर्न लागिएको जानकारी दिएको हो ।
विश्वविद्यालय अनुदान आयोग नेपालको सहयोगमा आयोजना हुन लागेको यस सम्मेलनमा पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, थाइल्याण्डको सिनावात्रा विश्वविद्यालय र मुक्त फाउण्डेसन नेपालको सहकार्य रहेको छ । क्याम्पसका अनुसार उक्त सम्मेलनमा ३ वटा राष्ट्रका ७ विश्वविद्यालय र २१ वटा क्याम्पसका ७८ जना अनुसन्धानकर्ताहरूले ५४ वटा अनुसन्धान पत्रहरू प्रस्तुत गर्नेछन् ।
व्यवस्थापन तथा सामाजिक विज्ञानका समसामयिक विषयमा शैक्षिक बहस, अनुसन्धान आदान–प्रदान, नीति संवाद तथा विश्वविद्यालय र समुदाय तथा उद्योगीबीचको सहकार्य अभिवृद्धि गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको सम्मेलनका संयोजक एवं सहप्राध्यापक भीमप्रसाद न्यौपानेले बताए । सम्मेलनमा हरित व्यवस्थापन, डिजिटल बैंकिङ, दिगो वित्त, मानव संसाधन व्यवस्थापन, स्थानीय शासन, सामाजिक तथा सांस्कृतिक रूपान्तरण, सार्वजनिक नीति र वातावरणीय न्याय लगायतका विषयमा गहन छलफल हुनेछ ।
सम्मेलनमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारी, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका रजिस्ट्रार प्रा. डा. महानन्द चालिसे र थाइल्याण्डस्थित सिनावत्रा विश्वविद्यालयका सहप्राध्यापक डा. धानकोर्न थानाथानचुचोटको विशेष उपस्थिति रहनेछ । यसैगरी, प्यानल छलफल सत्रमा प्रा. डा. लेखनाथ भट्टराई, पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखे र ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बुढाथोकीले उच्च शिक्षा, आर्थिक विकास, बैंकिङ र उद्योग तथा सामाजिक रूपान्तरणका विषयमा अन्तरक्रिया गर्नेछन् ।
वि.सं. २०४४ सालमा स्थापना भएको पोखरा बहुमुखी क्याम्पसले केवल शिक्षण कार्यमा मात्र सीमित नरही अनुसन्धान र ज्ञान उत्पादनमा समेत आफ्नो भूमिका विस्तार गर्दै लगेको छ । संस्थागत विकासका विभिन्न चरण पार गर्दै वि.सं. २०७९ मा आफ्नै भवनमा सरेको यस क्याम्पसले वि.सं. २०८२ मा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र समेत प्राप्त गरिसकेको छ ।
सम्मेलनले अनुसन्धान संस्कृतिको विकास, नीति निर्माणमा शैक्षिक क्षेत्रको योगदान र सामुदायिक क्याम्पसको पहिचान सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको सम्मेलनका संयोजक सह–प्रा. भीमप्रसाद न्यौपाने र क्याम्पस प्रमुख सह–प्रा. शिशुकला पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्मेलनले अनुसन्धान संस्कृतिको विकास, नीति निर्माणमा शैक्षिक योगदान तथा विश्वविद्यालय–समुदाय–उद्योगबीच सहकार्य अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको क्याम्पस प्रमुख शिशुकला पराजुलीले बताइन् । उनका अनुसार क्यूएए सर्टिफिकेट प्राप्त गरेको क्याम्पसले यस्ता सम्मेलन गर्ने ल्याकत राख्ने सन्देश पनि यो सम्मेलनले दिनेछ ।





