पर्वत/ जिल्लाको कुश्मा नगरपालिका–२ स्थित अर्मादीको घुम्तीमा दुई सवारी साधन एकापसमा ठोक्किँदा दुई जनाको मृत्यू भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार बुधवार दिउसो करिब ४ बजेको समयमा पोखरा–बागलुङ सडक खण्डमा उक्त दुर्घटना भएको थियो । पोखराबाट मुस्ताङका लागि छुटेको ग १ क २९२९ नम्बरको ट्रक र विपरीत दिशामा गुडिरहेको ध २ प ३८०५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।
मोटरसाइकल चालक पर्वतको जलजला गाउँपालिका–९ बनौंका ४० वर्षीय हिरा गर्बुजा र सोही मोटरसाइकलको पछाडि बसेका कुश्मा नगरपालिका – १ मालढुंगाका ३५ वर्षीय सुजन भण्डारी गम्भीर घाइते भएका थिए । उनीहरूको टाउको सहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । दुर्घटना लगत्तै उनीहरुको उद्धार गरेर उपचारको लागि प्रदेश अस्पताल पर्वतमा लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।
ट्रकका चालक तनहुँको भिमाद नगरपालिका–२ का ३५ वर्षीय मनोज थापा तथा उनले चलाएको ट्रक समेत नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्वतको नियन्त्रणमा राखिएको छ ।





