काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ग्रीन हाइड्रोजन नेपालका लागि हरित भविष्य निर्माण गर्ने महत्त्वपूर्ण अवसर भएको बताएका छन् ।
विश्व वातावरण दिवसको अवसरमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा आयोजित ‘नेपालमा ग्रीन हाइड्रोजन विकासमा भएका पहलहरूको राष्ट्रिय समीक्षा’ विषयक कार्यशालामा बोल्दै उनले नेपाल ग्रीन हाइड्रोजन उत्पादनका लागि अत्यन्त सम्भावनायुक्त मुलुक रहेको बताए ।
मन्त्री श्रेष्ठले नेपालमा जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको प्रचुर सम्भावना रहेकाले स्वच्छ ऊर्जाको उपयोगमार्फत ग्रीन हाइड्रोजन उत्पादन गरी औद्योगिक विकास, ऊर्जा विविधीकरण तथा निर्यातका नयाँ अवसर सिर्जना गर्न सकिने बताए ।
उनका अनुसार, ग्रीन हाइड्रोजनले ऊर्जा आत्मनिर्भरता हासिल गर्न र हरित औद्योगिकीकरणलाई गति दिन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
उनले उद्योग, यातायात तथा ऊर्जा भण्डारणजस्ता क्षेत्रमा कार्बन उत्सर्जन घटाउन विश्वभर ग्रीन हाइड्रोजनको प्रयोग तीव्र रूपमा विस्तार भइरहेको उल्लेख गरे ।
यसले ऊर्जा सुरक्षा सुदृढ गर्ने, औद्योगिक प्रतिस्पर्धात्मकता बढाउने तथा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न महत्त्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो ।
हरित अर्थतन्त्र निर्माणका लागि विकसित र विकासशील दुवै मुलुकले ग्रीन हाइड्रोजन क्षेत्रमा लगानी बढाइरहेको सन्दर्भमा नेपालले पनि यस अवसरलाई समयमै उपयोग गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए ।
सरकारले ग्रीन हाइड्रोजन नीति-२०८० कार्यान्वयनमा ल्याइसकेको र आगामी आर्थिक वर्षको बजेटमार्फत व्यावसायिक उत्पादनका लागि पाइलट परियोजना सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरिएको जानकारी दिए ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले अतिरिक्त जलविद्युत् ऊर्जालाई उच्च मूल्यको स्वच्छ इन्धनमा रूपान्तरण गर्ने प्रभावकारी माध्यमका रूपमा ग्रीन हाइड्रोजनको विकास आवश्यक रहेको बताए ।
उनले आगामी आर्थिक वर्षको बजेटमा हेटौँडामा २.५ मेगावाट क्षमताको ग्रीन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाका रूपमा अघि बढाउन बजेट व्यवस्था गरिएको जानकारी दिए ।





