आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कहाँ सारिएला बसपार्कभित्रको २४० जना पढ्ने सहारा स्कूल ?

कहाँ सारिएला बसपार्कभित्रको २४० जना पढ्ने सहारा स्कूल ?

मेयर भन्छन्, सहारा आधारभूत विद्यालयलाई नयाँ बस्तीमा सारिन्छ । थप व्यवस्थित र आधुनिक बनाइन्छ ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २४ २०८३, आइतबार

पोखरा/यतिबेला पोखरा ९ मा रहेको प्रस्तावित बसपार्क क्षेत्र चर्चामा छ । पोखरा महानगरले पृथ्वीचोकको २०५ रोपनी क्षेत्रफलमा रहेको अतिक्रमित जग्गा खाली गराउने भनेपछि केही अव्यवस्थित बसोबासीले आफ्नो घर÷टहरो आफैले भत्काएका छन् भने लालपूर्जा भएका केहीले चाहिँ अदालत गुहारेका छन् ।

यो दृष्यकै बीच सोही ठाउँमा रहेको सहारा आधारभूत विद्यालय भने पहिलाजस्तै संचालन भइरहेको छ । शुक्रबार पनि विद्यालय पहिलेजस्तै खुल्यो तर विद्यार्थीको अनुहारमा त्रास देखिन्थ्यो । ३० वर्षअघि पोखरा बसपार्क क्षेत्रभित्रै स्थापना भएको सहारा आधारभूत विद्यालय ८ कक्षासम्म चल्छ । पोखरा महानगपालिकाका शिक्षा महाशाखा प्रमुख हेमराज आचार्यका अनुसार सहारामा अहिले करिब २४० जना विद्यार्थी पढ्छन् । त्यहाँ ८ जना प्रावि दरबन्दीका शिक्षक छन् तर पढाइ चाहिँ ८ कक्षासम्म हुन्छ ।

‘सहारा पोखरा नगर क्षेत्रभित्र धेरै विद्यार्थी हुने आधारभूत (निम्नमाध्यमिक ) स्कूल हो, त्यहाँ पढ्ने बालबालिकाहरु बसपार्क क्षेत्रका मात्र चाहिँ छैनन् र हैनन्,’आचार्यले भने,‘बसपार्क क्षेत्र खाली गराउँदा विद्यालय पनि पर्छ नै तर विद्यार्थीको व्यवस्थापनको तयारी भइसकेको छ । उनीहरुलाई मनोवैज्ञानिक त्रास र असुविधा नहोस् भन्ने कुरामा नगर प्रमुख नै लाग्नुभएको छ ।’

काठमाडौंको अतिक्रमण हटाउने क्रममा विद्यालयमा पनि डोजर चलाइएपछि विद्यार्थीहरुमाथि मनोवैज्ञानिक त्रास थपिएको थियो । होल्डिङ सेण्टरमा रहेका विद्यार्थीहरुले लामो समयसम्म स्कूल जान नपाएको गुनासो गरेका थिए । त्यो घटनाबाट पाठ सिक्दै पोखराले आवश्यक प्रबन्ध मिलाउँदै गरेको मेयर धनराज आचार्यले जानकारी दिए ।

‘पोखरा बसपार्कभित्र सञ्चालन भइरहेको सहारा आधारभूत विद्यालयको भविष्य लाई लिएर आम नागरिक तथा सरोकारवालाहरूबाट व्यक्त भएका जिज्ञासाहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ,‘उनले भनेका छन्,‘ हाल बसपार्क क्षेत्रभित्रका टोलहरूमा बसोबास गरिरहनु भएका परिवारहरूलाई व्यवस्थित ’संयुक्त आवास’ (नयाँ बस्ती) मा स्थानान्तरण गर्ने महानगरको स्पष्ट योजना छ । सोही योजनाअन्तर्गत सहारा आधारभूत विद्यालयलाई पनि उक्त नयाँ बस्तीमै थप व्यवस्थित र आधुनिक रूपमा स्थानान्तरण गरिनेछ ।’

उनका अनुसार पोखरा बसपार्कको अतिक्रमण हटाउने पूर्वतयारी अनुसार नै गएको फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सहारा आधारभूत विद्यालयमा रहँदै आएको मतदान केन्द्रलाई पोखरा बहुमुखी क्याम्पसमा सारिएको स्मरण पनि गराएका छन् ।

‘यो आकस्मिक निर्णय नभई बसपार्क निर्माणको दीर्घकालीन योजना र कार्यान्वयन प्रक्रियाकै एक हिस्सा हो,’उनले भनेका छन् । उनले सोझै नभने पनि बसपार्कभित्र रहेको सो स्कूल त्यहाँका सुकुम्बासीहरुलाई व्यवस्थापन गरिने ठाउँ वा बसपार्कनेर नै रहेको उपत्यका नगर विकास समितिको जग्गामा सर्ने सम्भावना प्रवल रहेको छ ।

मेयर आचार्यले पोखरा बसपार्कलाई आधुनिक र सुविधासम्पन्न बनाउन आवश्यक परियोजना व्यवस्थापन, बजेट सुनिश्चितता तथा भौतिक पूर्वाधार निर्माणका कार्यहरू योजनाबद्ध रूपमा अगाडि बढिरहेको जनाउँदै त्यसमा भाँजो नहाल्न र सघाउन सवै पक्षसँग आग्रह पनि गरेका छन् । बसपार्क क्षेत्रमा एयरपोर्टको जगा अधिग्रहण गर्दा सट्टा जग्गा पाएका र मुआब्जाको रुपमा नै त्यहाँ पाएका जग्गाधनीले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । अदालतले जेठ २२ गते अल्पकालीन आदेश जारी गर्दै तत्काल ती संरचना नभत्काउन भनेको छ भने २६ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

कहाँ हुन्छ व्यवस्थापन ?
महानगरले वडा नम्बर १७ की अध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा ७ सदस्यीय जग्गा खोज्न समिति गठन भएको थियो । समितिमा वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, १५ का अध्यक्ष तोरण बानियाँ, १४ का अध्यक्ष बोधराज कार्की, २५ की कार्यवाहक अध्यक्ष धना पोख्रेल, नापी शाखा पोखराका प्रमुख सीता कार्की र प्रशासन महाशाखाका अधिकृत टिकाराम बजगाईं (सदस्य सचिव) रहेका थिए । मेयर आचार्यका अनुसार सो समितिले आफ्नो प्रतिवेदन बुझाइ सकेको छ ।

समितिले पोखरा ११ को रामघाट क्षेत्रमा पुन समाजले चर्चेको करिब ४६ रोपनी पर्ति जग्गा,वडा नम्बर १४ को भेडीफर्मको २ सय ४८ रोपनी जग्गा, बाच्छेबुडुवा र भेडीफर्म वडा नम्बर १५ को मजुवामा रहेको ९९ रोपनी जग्गा, वडा नम्बर १७ को प्रगति टोल २३ रोपनी जग्गा अनि पोखरा १७ कै सहारा पार्कको २० रोपनी, २१ को दोविल्लामा रहेको ४ सय ३० रोपनी, वडा नम्बर २५ हेम्जाको करिब ८ सय ९३ रोपनी जग्गामा बस्ती बसाउन सकिने सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->