आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सात वर्षपछि उत्तर कोरिया पुगे चिनियाँ राष्ट्रपति सी

सात वर्षपछि उत्तर कोरिया पुगे चिनियाँ राष्ट्रपति सी

उत्तर कोरियाको राजधानी प्योङयाङमा भव्य स्वागत


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०८३, सोमबार

काठमाडौं  / चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका छन्।उत्तर कोरियाली नेता किम जोङ उन र उनकी श्रीमती री सोल जुले विमानस्थलमा सी र उनकी श्रीमती पेङ लियुआनलाई भव्य स्वागत गरेका हुन्।

सात वर्षमा सीको यो पहिलो उत्तर कोरिया भ्रमण हो। उत्तर कोरियाले युक्रेन युद्धमा रूसलाई सेना र हतियार सहयोग गरेर मस्कोसँग सैन्य सम्बन्ध गहिरो बनाइरहेका बेला यो भ्रमण भएको हो।

विज्ञहरूका अनुसार यो भ्रमण आर्थिक र राजनीतिक लाभ प्रदान गर्ने बदलामा उत्तर कोरियामाथि चीनको विशिष्ट प्रभावलाई पुनः स्थापित गर्नका लागि भएको हो।

भ्रमणका क्रममा सीले किम जोङ उनसँग शिखर वार्ता गर्नेछन्। चिनियाँ सञ्चार माध्यम सिन्ह्वाका अनुसार सीको भ्रमण दलमा विदेशमन्त्री वाङ यी र कम्युनिष्ट पार्टीका शीर्ष अधिकारी काई ची पनि छन्। उत्तर कोरियाली सञ्चार माध्यम रोडोङ सिनमुन पत्रिकाले सीलाई ‘सबैभन्दा सम्मानित राज्य अतिथि’ भनेर सम्बोधन गरेको छ।

विश्लेषकहरूका अनुसार सीले किमलाई चामल, मल, चिनियाँ पर्यटन र संयुक्त आर्थिक परियोजना जस्ता आर्थिक सहायता प्याकेजहरू प्रस्ताव गर्ने सम्भावना छ। वान कोरिया सेन्टरका प्रमुख क्वाक गिल सुपले भने, ‘उत्तर कोरिया केवल रूसमा भर पर्न सक्दैन, यसले चीनसँग मिलेर काम गर्नु पर्छ।’

यसैबिच, उत्तर कोरियाको आणविक निशस्त्रीकरणको मुद्दामा सीले किमलाई दबाब नदिने अपेक्षा गरिएको छ। गत महिना ट्रम्प र सीबिच भएको शिखर सम्मेलनमा उत्तर कोरियाको आणविक निःशस्त्रीकरणको लक्ष्यमा सहमति भएको भन्ने दाबी अमेरिकाले गरेको थियो।

तर किमकी बहिनी किम यो जोङले सो दाबीलाई ‘निराधार झूट’ भन्दै खारेज गरेकी थिइन्। उनले भनेकी थिइन्, ‘उत्तर कोरियाले आणविक शक्तिको रूपमा आफ्नो स्थितिबारे छलफल गर्ने योजना बनाएको छैन किनकि यसलाई पूर्ण रूपमा अपरिवर्तनीय मानिन्छ।’ दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङका अनुसार उत्तर कोरियाले वार्षिक १०–२० वटा बम बनाउन पुग्ने आणविक सामग्री उत्पादन गरिरहेको छ। एजेन्सी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->