शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जन्मजात अपांग सुनितालाई घरमै नागरिकता

जन्मजात अपांग सुनितालाई घरमै नागरिकता

कार्यालयसम्म आएर सेवा लिन नसक्नेहरुलाई नागरिकता जस्तो महत्वपूर्ण कागजातबाट वञ्चित हुन नपरोस् भनेर घरमै ल्याएर वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ३१ २०८३, आइतबार
पर्वत / जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला गाउँपालिका–४ फड्केढुङ्गाकी २४ वर्षीया सुनिता विकले घरमै नागरिकता पाएकी छिन् ।
चौविसै घण्टा बिस्तारामै पल्टिरहने भएका कारण परिवारले सदरमुकाम कुश्मास्थित जिल्ला प्रशासन कार्यालयसम्म ल्याउन नसक्ने भएपछि आज घरमै लगेर नागरिकता वितरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलसहित कार्यालयका कर्मचारी, स्थानीय वडाध्यक्ष भरत जिसी लगायतको सहभागितामा नागरिकता हस्तान्तरण गरिएको हो ।
कार्यालयसम्म आएर सेवा लिन नसक्नेहरुलाई नागरिकता जस्तो महत्वपूर्ण कागजातबाट वञ्चित हुन नपरोस् भनेर घरमै ल्याएर वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । उनले अपाङ्गताको प्रकृति हेर्दा अत्यन्तै दयनीय रहेकाले सदरमुकाममा बोलाउने कुनै उपायसमेत नभएको बताए ।
नागरिकता पाएसँगै राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ता लगायत अन्य सहयोग प्राप्त गर्न सहज हुने प्रजिअ पौडेलको भनाइ छ । पीडित सुनिताका बाबु काला सुनारले पोलियो रोगका कारण छोरीको यस्तो अवस्था भएको बताए । जुनसुकै अस्पतालमा लैजाँदा पनि निको हुन नसकेको बताउँदै उनले पूर्ण रुपमा अपाङ्गता हुँदा परिवार नै समस्यामा परेको उल्लेख गरे । खाना खुवाउने, सरसफाइ गरिदिन एक जना पूर्ण रुपमा खटिनुपर्दा परिवारको अन्य गुजारा चलाउन समस्या भएको सुनारले सुनाए ।
सुनिताका दुई दाजुको स्वास्थ्य अवस्था राम्रै छ । तेस्रो सन्तानको रुपमा जन्मिएकी उनी सुरुका आठ महिनासम्म ठीकठाकै भए पनि त्यसपछि स्वास्थ्य बिग्रिदै गएको र अपाङ्गताले थलिँदै गएको सुनारले बताए । नागरिकता बनेसँगै अब नियमित वडा कार्यालवाट भत्ता दिइने जलजला–६ का वडाध्यक्ष भरत जिसीले जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->