बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

महाशिलाको बजेट ४६ करोड ४७ लाख

महाशिलाको बजेट ४६ करोड ४७ लाख

कृषि, शिक्षा र पूर्वाधारमा जोड


  • ढाेरपाटन संवाददाता
  • असार ११ २०८३, बिहिबार

पर्वत / पर्वतको महाशिला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ४६ करोड ४७ लाख ४८ हजार ४९ रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको चौथो बजेट सभा तथा २० औं गाउँसभामा उपाध्यक्ष धनसुवा बिकले बजेट प्रस्तुत गरेकी हुन् ।

“हाम्रो महाशिलाः राम्रो महाशिला’’ बनाउने अठोटका साथ प्रस्तुत बजेटले व्यावसायिक कृषि अर्थतन्त्रको विकास, शैक्षिक गुणस्तरमा अभिवृद्धि, स्थानीय रोजगारी सिर्जना र सार्वजनिक सेवालाई नागरिकमैत्री बनाउने मुख्य उद्देश्य राखेको छ ।

बजेटको स्रोतमध्ये संघीय सरकारमार्फत सशर्त अनुदान (चालु) तर्फ १८ करोड ४७ लाख, सशर्त अनुदान (पुँजीगत) तर्फ ३० लाख, समपूरक अनुदानतर्फ २ करोड २७ लाख, विशेष अनुदानतर्फ १ करोड ४४ लाख र वित्तीय समानीकरण अनुदानतर्फ ७ करोड ४९ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ । यस्तै, संघीय राजस्व बाँडफाँटबाट ५ करोड ९० लाख २४ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

गण्डकी प्रदेश सरकारबाट समपूरक अनुदानतर्फ ६० लाख र विशेष अनुदानतर्फ ४० लाख रुपैयाँ मिल्ने अनुमान छ । प्रदेश समानीकरण अनुदानतर्फ ७३ लाख ८९ हजार र राजस्व बाँडफाँटबाट ६४ लाख ६२ हजार ७६० रुपैयाँ ८० पैसा प्राप्त हुने बताइएको छ । गाउँपालिकाले आन्तरिक आयतर्फ ४ करोड ६० लाख ६५ हजार ८७५ रुपैयाँ संकलन हुने अनुमान गरेको छ भने अपुग हुने ३ करोड ६१ लाख ६ हजार ४१३ रुपैयाँ २० पैसा गत वर्षको नगद मौज्दातबाट ब्यहोरिने उल्लेख छ ।

बजेटका मुख्य क्षेत्रगत कार्यक्रम अन्तर्गत शिक्षा क्षेत्र (प्रविधि र आवासीय सिकाई)ःमाध्यमिक तथा उच्च शिक्षा शिक्षण अनुदान, शिक्षक प्रोत्साहन र प्रतिस्पर्धा कार्यक्रमका लागि ६ लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रति विद्यालय एक सवारीसाधनका लागि गुड्ने इन्धन तथा मर्मत खर्च दिने कार्यलाई निरन्तरता दिइएको छ । कक्षा ४ भन्दा माथिका कक्षाहरूमा शिक्षक अभाव हुँदा पनि पढाइ नरोकिने गरी डिजिटल शिक्षण प्रणाली र मोबाइल एपमा आधारित दैनिक मूल्यांकन प्रणाली सुरु गर्न ९ लाख रुपैयाँ छुट्याइएको छ । यसबाट विद्यार्थीको सिकाइ उपलब्धि सोही दिन अभिभावक र गाउँपालिकाले मोबाइलमा हेर्न सक्नेछन् । कक्षा ८ देखि १० सम्म कम्तिमा ६ महिना पूर्ण आवासीय रूपमा चलाउने विद्यालयलाई ३ लाख र दरबन्दी नभई कक्षा १० भन्दा माथि चलाउने विद्यालयलाई शिक्षक पारिश्रमिकका लागि ३ लाख रुपैयाँ अनुदान दिइनेछ । राष्ट्रपति रनिङ शिल्डका लागि ५ लाख र दिवा आवासीय विद्यालय कार्यक्रमका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

कृषि ऋणमा ब्याज अनुदान र पशु दाना बनाउने मेसिन एवं फलफूलका बिरुवा वितरणमा ५० प्रतिशत अनुदान दिन ४ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ । ‘उत्पादन महाअभियान अनुदान कार्यक्रम’ अन्तर्गत तरकारी र फलफूलमा प्रति केजी ५ रुपैयाँ, खसीबोकामा प्रति केजी २५ रुपैयाँ र दूध बिक्रीमा प्रति लिटर १० रुपैयाँ अनुदान दिने कार्यलाई निरन्तरता दिइएको छ । संघीय विशेष अनुदानअन्तर्गत तरकारी खेती प्रणाली संरचना विस्तार तथा तालिमका लागि १ करोड ४४ लाख रुपैयाँ विनियोजन गरिएको छ । साथै, वडास्तरमा कोल्डस्टोर (शितभण्डार) निर्माण गर्न प्रदेश सरकारको विशेष अनुदानबाट ४० लाख रुपैयाँ व्यवस्था गरिएको छ । सामाजिक विकास र स्वास्थ्यःजातीय भेदभाव विरुद्धको जनचेतना, अपाङ्गता, युवा, महिला, जनजाति उत्थान तथा ‘महाशिला रिटर्नी क्लब’ को कार्यक्रमका लागि २७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

आमा समूह र क्लबहरूको सहायताका लागि १४ लाख रुपैयाँ छुट्याइएको छ । मानव र पशु स्वास्थ्यका लागि आवश्यक औषधि किन्न १७ लाख र महाशिला आधारभूत अस्पतालमा एक्स–रे लगायतका मेसिनरी औजार खरिद गर्न ३० लाख रुपैयाँ बजेट सुनिश्चित गरिएको छ ।
भौतिक पूर्वाधार, सडक र रोजगार अन्तर्गत ः१४३ जना निर्माण स्वयंसेवकलाई रोजगारी दिने ‘महाशिला स्वयंसेवक कार्यक्रम’ का लागि ५० लाख र राष्ट्रिय रोजगार कार्यक्रमको साझेदारी हिस्साका लागि १६ लाख रुपैयाँ छुट्याइएको छ । सडकतर्फ, अगुवा होश्राङ्गदी पैयूँभञ्ज्याङ सडकका लागि समपूरक कोषबापत १ करोड ३ लाख, घण्टे फलामखानी घन्तरी लुंखु सडक स्तरोन्नतिका लागि ५० लाख, र बालाकोट होश्राङदी सडकका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । जुकेखोला अर्गाउँदी बारेडाँडा सडक बहुवर्षीय योजनाका लागि १ करोड र वाइचोक दुक्तान खण्ड आगामी माघ मसान्तभित्र सक्न १ करोड १० लाख रुपैयाँ व्यवस्था गरिएको छ । शाखा बाटो सरसफाइको जिम्मा सम्बन्धित वडालाई दिई लम्बाइका आधारमा बजेट पठाइने बजेटमा उल्लेख छ ।

‘एक वडाः एक रिचार्ज पोखरी’ तथा सिमसार र मूल संरक्षणका लागि १२ लाख रुपैयाँ, महाशिला क्षेत्रमा आश्रम भवनलाई अतिथि गृह र आवासका रूपमा चलाइनेछ र त्यहाँ १०८ शिवलिङ्ग स्थापना गर्न गाउँपालिकाले थप १८ लाख रुपैयाँ बजेट छुट्याएको छ । पैयूँकोट, चिसापानी लगायतका क्षेत्रको प्रचारप्रसारका लागि ६ लाख रुपैयाँ व्यवस्था गरिएको छ । तत्कालीन पैयूँ राज्यको केन्द्र रहेको यस ऐतिहासिक क्षेत्रको गुर्धमपोखरीलाई पुरानै शैलीमा मर्मत गर्न ५ लाख रुपैयाँ र इतिहासको खोज–प्रकाशनमा आवश्यक बजेट राखिएको छ । विद्यालय र स्थानीयको सहभागितामा साहित्यिक महोत्सव समेत सञ्चालन गरिने जनाइएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको राजस्व दरमा सामान्य हेरफेर गर्दै बिक्रीका लागि कटान हुने रुखको सिफारिसबापत प्रति रुख २५० रुपैयाँ शुल्क कायम गरेको छ । राजस्वका नयाँ क्षेत्र पहिचान गर्न जनप्रतिनिधिहरूलाई प्रत्यक्ष जिम्मेवार बनाइने र कार्यालयबाट चलानी हुने सिफारिसमा आम्दानी रसिद नम्बर अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्थालाई निरन्तरता दिइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->