शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

वर्षा नहुँदा मध्य असारसम्म पर्वतमा २१ प्रतिशत रोपाइँ

वर्षा नहुँदा मध्य असारसम्म पर्वतमा २१ प्रतिशत रोपाइँ

कृषि विकास कार्यालय पर्वतकी बाली संरक्षण अधिकृत सोबिता सुवेदीका अनुसार यो वर्ष जिल्लाको कुल ७ हजार १ सय ६० हेक्टर क्षेत्रफलमा बर्खे धान रोपाइँ हुने अनुमान गरिएकोमा यसको २१ प्रतिशत अर्थात् १ हजार ५ सय ३ हेक्टर क्षेत्रफलमा रोपाइ भएको छ ।


  • ढोरपाटन संवाददाता
  • असार १५ २०८३, सोमबार

पर्वत/पर्याप्त मात्रामा वर्षा भएको भए धमाधम रोपाइ भइरहेको हुने मध्य असारसम्म पर्वतमा भने २१ प्रतिशत रोपाइँ मात्रै पूरा भएको छ ।

नेपालमा ढिला गरी मौसम भित्रिँदा तथा भित्रिएको मौसम पनि छिटो गतिमा देशभर नफैलिँदा रोपाइँ गर्ने बेलामा पनि वर्षा हुन सकिरहेको छैन । स्थानीय बायुको प्रभावले केही दिनको अन्तरमा सामान्य वर्षा भए पनि उक्त वर्षाले खेतका कान्लामा रहेका पानीका मूलहरू फुटाउन सकेको छैन ।

खेतमा लगाइएको मकै नपाकेको भए पनि यो बेलामा बाँझा छोडिएका, खोला आसपास तथा जिल्लाका उच्च भेगमा भने रोपाई हुनुपर्ने थियो । खोल्सा वा खोलाको पानी लाग्ने खेत, सिचाइको नियमित सुविधा भएका क्षेत्रहरूमा केही रोपाइ भएको भए पनि सबै ठाउँमा रोपाइ हुन सकिरहेको छैन ।

कृषि विकास कार्यालय पर्वतकी बाली संरक्षण अधिकृत सोबिता सुवेदीका अनुसार यो वर्ष जिल्लाको कुल ७ हजार १ सय ६० हेक्टर क्षेत्रफलमा बर्खे धान रोपाइँ हुने अनुमान गरिएकोमा यसको २१ प्रतिशत अर्थात् १ हजार ५ सय ३ हेक्टर क्षेत्रफलमा रोपाइ भएको छ ।

मध्य असारसम्म जिल्लाको कुश्मा नगरपालिका–११, फलेवास नगरपालिका–७ र ८, पैयुँ गाउँपालिका–४ र ६, मोदी गाउँपालिका–६ र ८ मा धेरै रोपाइँ भएको छ। यीबाहेक अन्य ठाउँहरूमा पनि फाटफुट मात्रामा रोपाइ भइरहेको बाली संरक्षण अधिकृत सुवेदीले बताइन् ।

पर्वतमा मुख्य गरी झिनुवा, गुडुरा, च्याम्पियन, युएस३१२, चैते–५, एक्ले, छेमरोङ, खुमलटार, गौरिया, गुडुरा, मार्सी, पहेले, जर्नेलीसहित केही स्थानीय जातका धान रोप्ने गरिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार पर्वतमा करिब २८ हजार खेतीयोग्य जमिनमध्ये करिब ७ हजार २ सय हेक्टरमा धान खेती हुने गरेको छ । जसबाट २० हजार ५ सय २० मेट्रिक टन उत्पादन हुन्छ ।

पर्वतमा मुख्य बालीको रूपमा चिनिने धान बालीको उत्पादन भने प्रत्येक वर्ष घट्दै जाने देखिएको छ । तत्कालिन कृषि ज्ञान केन्द्र कार्यालय पर्वतले २०७७ सालमा सार्वजनिक गरेको तथ्याङ्कमा जिल्लामा नौ हजार ७० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको भनिएको थियो । जबकी यस वर्ष ७ हजार १ सय ६० हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ हुने अनुमान गरिएको छ ।

समयमै र पर्याप्त वर्षा धान रोपाई मात्रै प्रभावित नभएर कतिपय स्थानमा बारीमा रोपिएको कोदोसमेत मरेको छ । रोपाइका लागि बीउ तयार भएपछि रोप्नैपर्ने बाध्यताबीच कोदो रोपिएको भए पनि वर्षा नभएको र चर्को घाममा परेर कोदोको बीउ नै सुकेको हो । कतिपय ठाउँमा भने कृषकहरूले अझै पनि कोदो रोपाइँ नै गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->