पर्वत / १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक पुरुषलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन कुमार पटेलका अनुसार जलजला गाउँपालिका–६ ठोट्नेरीमा बस्दै आएका ५३ वर्षीय गोर बहादुर बि.क.लाई बुधवार नियन्त्रणमा लिइएको हो । गत असार १४ गते दिउसो ती बालिकालाई ललाईफकाई करणी गरेको भन्दै बालिकाकी आमाले बुधवार जिल्ला प्रहरी कार्यालय पर्वतमा जाहेरी दर्ता गराएकी थिइन् ।
लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वत प्रहरी निरीक्षक पटेल र प्रहरी चौकी मिलन चोकको टोलीले आरोपितलाई पक्राउ गरेको हो । पक्राउ परेका बि.क.को प्रदेश अस्पताल पर्वतमा स्वास्थ्य परीक्षणपछि अनुसन्धान भइरहेको छ ।





