पर्वत / जिल्लाको मोदी गाउँपालिका–८ महके गाउँस्थित लेतेखोला ठाडो पाखा सामुदायिक वनबाट बेवारिसे अवस्थाका ८ थान अवैध हतियार बरामद भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन कुमार पटेलका बेवारिसे अवस्थामा लुकाइछिपाई राखेको नाल तथा काठ सहितको ८ थान भरुवा बन्दुक बरामद गरिएको हो । मोदी गाउँपालिकाको महेक गाउँमा अवैध हातहतियार भरुवा बन्दुक रहेको भनी स्थानीयमार्फत प्रहरी नायव उपरीक्षक विजय कुमार यादवलाई सूचना प्राप्त भएको थियो । सोही आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक पटेलको कमान्डमा पुगेको १० जनाको प्रहरी टोलीले ती हतियारहरू नियन्त्रणमा लिएको हो ।
प्रहरी निरीक्षक पटेलका अनुसार पर्वत प्रहरीमा गाउँ गाउँमा रहेका अवैध हतियारहरू प्रयोग गरेर जङ्गली जनावरको सिकार गर्ने क्रम बढेको भन्दै गुनासाहरू आइरहेका थिए । गाउँमा रहेका अवैध हतियारले जंगली जनावरको सिकार गर्दा पर्यावरणमा असर परेको तथा तीनै हतियारको प्रयोग गरेर जुनसुकै बेलामा पनि अपराध हुनसक्ने जोखिमको बारेमा प्रहरीमा खबर आएको थियो । गुनासोकै आधारमा प्रहरीले ती हतियार र व्यक्तिहरू नियन्त्रणमा लिने गरी ‘अपरेसन’ चलाउने अवस्थाकाबीच बनमा बेवारिसे हतियारहरू रहेको सूचना आएको हो ।
‘गाउँमा रहेका अवैध हतियारहरूबाट जङ्गली पक्षीहरू मारिएको तथा गाउँमा अपराधका घटनाहरू हुन सक्ने भन्दै जनगुनासो हामीलाई आएको थियो । हामीले यसको अनुसन्धान गरिरहेको बेलामा वन क्षेत्रमा हतियार रहेको सूचना आयो’, उनले भने, ‘हामीले छापा मारेको अवस्थामा व्यक्तिहरू समेत पक्राउ पर्न सक्ने डरले ती हतियारहरू त्याग्नको लागि बेवारिसे अवस्थामा राखिएका हुन सक्छन् ।’ जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका ती हतियारहरू र यससम्बन्धी अन्य घट्नाक्रमहरुको बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रहरी वा प्रशासनले अवैध हतियारको सम्बन्धमा गर्ने कारबाहीबाट जोगिनका लागि जिल्लाका जोकोहीले पनि समयमा नै प्रहरी वा जिल्ला प्रशासनसँगको समन्वयमा ती हतियारहरू बुझाउन उनले अनुरोध गरे । जिल्ला प्रशासन कार्यालयले समय–समयमा यस्ता खालका हतियारहरू बुझाउन सूचना जारी गर्ने गरेको र प्रशासनको अनुरोध अनुसार हतियार बुझाउनु नै उत्तम हुने प्रहरी निरीक्षक पटेलको सुझाव छ ।





