शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. अधिकारीद्वारा पदभार ग्रहण

पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. अधिकारीद्वारा पदभार ग्रहण

शैक्षिक क्यालेण्डर, समयमै नतिजा र अनुसन्धानलाई उच्च प्राथमिकता


  • ढाेरपाटन संवाददाता
  • असार २२ २०८३, सोमबार

पोखरा/ पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा‍.डा. देवेन्द्र अधिकारीले सोमबारदेख पदभार ग्रहण गरेका छन् । अधिकारीलाई पोखरा–३०, खुदीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबार नै स्वागत गरिएको थियो ।  कार्यक्रममा विभिन्न संकायका डीन, परीक्षा नियन्त्रक, विभिन्न निकायका प्रमुख, स्कुल निर्देशक, अस्पताल निर्देशक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा रजिष्टार प्रा. हरिबहादुर खड्काले नवनियुक्त उपकुलपतिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विश्वविद्यालयका नियमित शैक्षिक, प्रशासनिक तथा निर्माणसम्बन्धी गतिविधिहरू निरन्तर रूपमा अघि बढिरहेको जानकारी गराएका थिए । उनले विश्वविद्यालयमा पठनपाठन नियमित सञ्चालन, समयमै परीक्षा तथा नतिजा प्रकाशन, प्रशासनिक तथा आर्थिक कार्यसम्पादन, छात्रवृत्तिसम्बन्धी कार्य, पूर्वाधार निर्माण तथा आगामी बजेट निर्माणलगायतका कार्यहरू व्यवस्थित रूपमा सञ्चालन भइरहेको उल्लेख गरे ।

यसै अवसरमा निवर्तमान उपकुलपति प्रा.डा.विष्णुराज तिवारीले विश्वविद्यालय सबैको साझा संस्था भएको उल्लेख गर्दै आफ्नो कार्यकालमा विश्वविद्यालयका नियमित शैक्षिक तथा प्रशासनिक गतिविधिलाई निरन्तरता दिन सकिएको बताए । उनले कार्यकालभर सहयोग, सद्भाव र साथ प्रदान गर्ने सम्पूर्ण विश्वविद्यालय परिवारप्रति आभार व्यक्त गरे ।

नवनियुक्त उपकुलपति प्रा. डा. देवेन्द्र अधिकारीले विश्वविद्यालयलाई शैक्षिक उत्कृष्टता, अनुसन्धान, डिजिटल रूपान्तरण र अन्तर्राष्ट्रियकरणतर्फ अग्रसर गराउने प्रतिबद्धता व्यक्त गरे । उनले विश्वविद्यालयमा शैक्षिक क्यालेण्डर पूर्ण रूपमा लागू गरी सम्पूर्ण शैक्षिक गतिविधिलाई समयबद्ध बनाइने बताए । परीक्षासम्बन्धी सम्पूर्ण प्रक्रिया नियमित गर्दै परीक्षा सम्पन्न भएको ३० दिनभित्र नतिजा प्रकाशन गर्ने लक्ष्यका साथ काम गरिने उनको भनाइ थियो।

उनले विश्वविद्यालयमा डिजिटलाइजेशनलाई प्राथमिकतामा राख्दै विद्यार्थीमैत्री एकीकृत प्रणाली विकास गरिने जानकारी दिए । सो प्रणालीमार्फत सूचना, छात्रवृत्ति, विद्यार्थी सहायता तथा अन्य आवश्यक सेवाहरू एउटै प्लेटफर्मबाट उपलब्ध गराइने उनले स्पष्ट पारे ।
गुणस्तरीय शिक्षालाई अझ प्रभावकारी बनाउन न्यूनतम शैक्षिक मापदण्ड कडाइका साथ लागू गरिने बताउँदै उपकुलपति अधिकारीले मापदण्ड पूरा नगर्ने कलेजलाई आवश्यक समय दिएर सुधारको अवसर प्रदान गरिने र सुधार नभए सम्बन्धनसमेत रद्द गर्न सकिने नीति अवलम्बन गरिने जानकारी दिए ।

विश्वविद्यालयलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने योजनाबारे चर्चा गर्दै उनले सरकारी अनुदानमा मात्र निर्भर रहने परम्परालाई क्रमशः परिवर्तन गरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिने बताए । त्यसका लागि विश्वविद्यालयप्रति समुदाय, विद्यार्थी तथा सम्पूर्ण सरोकारवालाको विश्वास अभिवृद्धि गर्नुपर्नेमा उनले जोड दिए ।

उनले कुनै पनि विश्वविद्यालयको पहिचान अनुसन्धान र नवप्रवर्तनबाट स्थापित हुने उल्लेख गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानलाई उच्च प्राथमिकतामा राखिने बताए । शिक्षक, विद्यार्थी, अनुसन्धान, प्रकाशन, परियोजना तथा विद्यावृत्तिलाई अनुसन्धानसँग जोड्दै समाज र राष्ट्रलाई उपयोगी हुने अनुसन्धान संस्कृतिको विकास गरिने उनको धारणा थियो।

अन्तर्राष्ट्रिय स्तरमा विश्वविद्यालयको पहिचान विस्तार गर्न संयुक्त अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य, गेष्ट लेक्चर, उद्योग–विश्वविद्यालय सहकार्य, शिक्षक तथा विद्यार्थी आदान–प्रदान, पेटेन्ट अधिकार र अनुसन्धानको प्रभावकारितामा विशेष जोड दिइने उनले बताए । यस्ता गतिविधिमार्फत मात्र विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय श्रेणीकरणमा स्थापित गर्न सकिने उनको विश्वास थियो।

उपकुलपति अधिकारीले विश्वविद्यालयका विभिन्न निकायका प्रमुखहरूसँग नियमित छलफल गरी विश्वविद्यालय सभा, प्राज्ञिक परिषद् तथा कार्यकारी परिषद्लाई शीघ्र पूर्णता दिइने र सम्पूर्ण सरोकारवालासँग सहकार्य र हातेमालो गर्दै विश्वविद्यालयको समग्र विकासका लागि कार्य गरिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको सञ्चालन सह–प्रशासक तारादेवी सापकोटाले गरेकी विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।

को हुन उपकुलपतिको अधिकारी ?
नवनियुक्त उपकुलपति प्रा.डा. देवेन्द्र अधिकारी मोरङ जिल्लाको विराटनगर महानगरपालिकाका स्थायी बासिन्दा हुन् । उनी उच्च शिक्षाको क्षेत्रमा करिब तीन दशकदेखि शिक्षण, अनुसन्धान, शैक्षिक नेतृत्व तथा विश्वविद्यालय प्रशासनमा सक्रिय रहँदै आएका छन्।

उनले भारतको तिल्का माझी भागलपुर विश्वविद्यालयबाट बाट भौतिकशास्त्र विषयमा विद्यावारिधि (पिएचडी) उपाधि प्राप्त गरेका छन् । सन् १९९६ मा पश्चिमाञ्चल क्षेत्रीय क्याम्पस, पोखराबाट सहायक प्राध्यापकका रूपमा शैक्षिक सेवा प्रारम्भ गरेका उनी सन् २०१३ देखि त्रिभुवन विश्वविद्यालयअन्तर्गत महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरमा भौतिकशास्त्रका प्राध्यापकका रूपमा कार्यरत रहेका थिए ।

उनले भौतिकशास्त्र विभागाध्यक्ष, स्नातकोत्तर भौतिकशास्त्र कार्यक्रम संयोजक तथा अनुसन्धान समितिका अध्यक्षका रूपमा नेतृत्व प्रदान गर्नुका साथै पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राध्यापक छनोट समितिका सदस्यका रूपमा समेत महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

उनका सात दर्जनभन्दा बढी अनुसन्धानमूलक लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित भएका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान तथा संस्थागत विकास परियोजनाहरूको सफल नेतृत्व गरेका उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलका प्रधान सम्पादक तथा सम्पादकका रूपमा पनि सक्रिय रहेका छन्। शिक्षण, अनुसन्धान, पाठ्यक्रम विकास, गुणस्तर सुनिश्चितता (क्यूएए), परीक्षा व्यवस्थापन, अनुसन्धान प्रवर्द्धन, विश्वविद्यालय प्रशासन तथा रणनीतिक योजना निर्माणका क्षेत्रमा उनको उल्लेखनीय अनुभव र योगदान रहेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->